काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिप अन्तर्गत दोस्रो चरणको छनोट खेल्ने नेपाली यू-१९ महिला टोलीलाई बिदाई गरिएको छ ।
अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले थाइल्याण्डमा आयोजना हुने उक्त छनोट प्रतियोगिता खेल्ने २३ सदस्यीय खेलाडीसहितको टोलीलाई आज ‘बुधवार’ बिदाई गरिएको हो । खेलाडीसहितको टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बिदाई गरेका थिए ।
मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठको नेतृत्वमा रहेको नेपाली टोली बुधवार नै चीन प्रस्थान गरेका छन् । चीनमा नेपालले दुई अभ्यास खेल र प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।
नेपालले चीनको यू-१५ महिला टोली र छन्दु प्रान्तको यू-१८ टोलीसँग खेल खेल्नेछ । दोस्रो चरणको छनोट खेल यहि अप्रिल २६ देखि ३० तारिखसम्म चल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
नेपाल छनोटको समूह ‘ए’ रहेको छ । नेपाल रहेको समूहमा अष्ट्रेलिया, उज्वेकिस्तान र म्यानमार रहेका छन् ।
यस्तो छनोट खेल तालिका
नेपालले अप्रिल २६ मा आफ्नो पहिलो खेलमा अष्ट्रेलियासँग खेल्नेछ । त्यस्तै अप्रिल २८ मा उज्वेकिस्तानको तथा अप्रिल ३० मा म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया