आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत कबड्डीमा आर्मीलाई दोहोरो उपाधि

बाँके । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय कबड्डीको पुरुष/महिला दुवैको उपाधि आर्मीले जितेको छ । 

सातौँ राष्ट्रिय खेलकुदमा पनि पुरुष/महिला दुवैमा च्याम्पियन बनेको थियो । बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको पुरुष फाइनलमा आर्मीले प्रदेश ५ लाई ४२–२१ ले पराजित ग-यो । महिला फाइनलमा आर्मीले अर्को विभागीय टोली प्रहरीलाई ३६–२१ ले हरायो ।

चैत ३० गतेदेखि सुरु प्रतियोगिताको पुरुष/महिला दुवैमा समान १०–१० टिम सहभागी थिए ।

यता राष्ट्रिय बुद्धिचालको खुलामा प्रहरीका पुरुषोत्तम चौलागाईं पहिलो भएका छन् । प्रहरीका मनीष हमाल दोश्रो तथा आर्मीका सचिन महर्जन तेश्रो भए । नौ चरणको खेलमा तीनै खेलाडीले समान ७–७ अंक जोडेपनि हेड टु हेडका आधारमा शीर्ष तीन स्थान छुट्टाइएको हो ।

मनीषले पुरुषोत्तम र सचिन दुवैसंग बराबरी खेलेका थिए भने सचिन पुरुषोत्तमसँग पराजित भएका थिए ।

बर्दियाको ठाकुरद्वारामा भएको प्रतियोगिताको महिलामा आर्मीकी सिन्दिरा जोशी दोश्रो तथा प्रदेश १ की कृपा अधिकारी तेश्रो भए । नवौं चरणको खेलमा सिन्दिराले ७ तथा कृपाले ६.५ अंक जोडे । आर्मीकी सुजना लोहनीले यसअघि मंगलवार नै एक खेल अगावै स्वर्ण पदक पक्का गरिसकेकी थिइन् ।

बुधवार नवौं चरणमा पनि जित हात पार्दै सुजनाले शत प्रतिशत जित निकालिन् । ९ अंक जोड्ने क्रममा सुजनाले अन्तिम खेलमा गण्डकीकी पूजा भण्डारीलाई पन्छाइन् । चैत २९ देखि शुरुप्रतियोगितामा ५२ पुरुष र २६ महिला खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?