एजेन्सी । युभेन्ट्सले यो सिजनको इटालियन लिग सिरी ‘ए’ फुटबलको उपाधि जितेको छ ।
शनिवार राति सम्पन्न भएको ३३ औँ चरणको खेलमा युभेन्ट्सले फिरोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गर्दै आठौँ पटक लिगको उपाधि आफ्नो पोल्टामा पारेको हो ।
खेल शुरु भएको ६ मिनेट पनि बित्न नपाउँदै फिरोरेन्टिनाका लागि मिलेनकोभिकले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । तर, ३७ औँ मिनेटमा युभेन्ट्सका लोबो सिल्भाले बराबरी गोल फर्काए ।
प्रतिस्पर्धात्मक बनेको खेलको ५३ औँ मिनेटमा फिरोरेन्टिनाका पेज्जिलाले आत्मघाती गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल युभेन्ट्सले २-१ गोल अन्तरले जित्यो ।
युभेन्ट्सले लगातार आठ पटक यो प्रतियोगिताको उपाधि जित्दै नयाँ कीर्तिमान समेत बनाएको छ । लिग सकिन भने अझै बाँकी रहेको छ । युभेन्ट्सले ३३ खेलबाट ८७ अंक बनाएको छ ।
दोस्रो स्थानमा रहेको नेपोलीको ६७ अंक छ ।
त्यस्तै शनिवार राति नै भएको एसि मिलान र पार्माबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ । इन्टर मिलानले रोमालाई एक-एक गोलको बराबरीमा रोक्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया