काठमाडौं । सन्दीप जोराले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा शतक प्रहार गरेपछि विभागीय क्लब एपीएफले बागमती प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४१ रन बनाउँदा बागमतीले २४२ रनको लक्ष्य पाएको छ ।
एपीएफका लागि प्रज्वल शाही र आशिफ शेखले ओपनिङ गरेका थिए । यी दुईका बीचमा जम्मा १८ रनको साझेदारी भएको थियो । ४.१ ओभरमा शाही १५ बलमा १० रन बनाएर आउट हुँदा २ चौका प्रहार गरे ।
त्यसपछि क्रिजमा आएका कप्तान रोहित पौडेल २ रन बनाएर आउट भए । उनी आउट हुँदा एपीएफको स्कोर २३ रन भएको थियो । तेस्रो विकेटको रुपमा अर्का ओपनर आशिफ पनि व्यक्तिगत १५ रन बनाए आउट भएका थिए । उनले १९ बल खेल्दा २ चौका प्रहार गरे ।
एपीएफले चौथो विकेट १२.२ ओभरमा जम्मा ४१ रन बनेका बेला गुमायो । सुमित महजृन १८ बल फेस गर्दा ६ रन जोडेर आउट भएका थिए । पुर्ण बम खाता नै नखोलेर आउट भएपछि पाँचौं विकेट पनि ४१ रनको स्कोरमा एपीएफले खेर फालेको थियो ।
एउटा साइडमा रहेका सन्दीप जोराले रन बनाउन लगातार प्रहार गरेका थिए । जोरा र लोकेश बम मिलेर एपीएफको स्कोर एकसय प्लस कटाए । १०७ रन भएका बेला बम ४२ बलमा २७ रनको पारि खेल्दै पभेलियन फर्किए । उनले १ छक्का प्रहार गरेका थिए । भुवन कार्की सातौं विकेटको रुपमा व्यक्तिगत १० रन बनाएर आउट भए । उनी आउट हुँदा एपीएफको स्कोर १२९ रन भएको थियो ।
आठौं विकेटका लागि अमरसिंह रौटेला र जोराले गतिलो साझेदारी गर्दै टिमको स्कोर दुईसय नजिक पु¥याएका थिए । टिमको स्कोर १९७ रन भएका बेला रौटेल ४६ बलमा २२ रनको पारि खेल्दै पभेलियन फर्किए । त्यसपछि क्रिजमा आएका अभिनाश बोहोराले १७ बलमा १८ रनको नटआउट पारि खेले ।
एपीएफले नवौं विकेटको रुपमा शतक बनाएका सन्दीप जोरालाई गुमाउन पुग्यो । उनी निर्धारित ओभरको २ बल बाँकी हुँदा ११२ रन बनाएर रनआउट भए । जोराले ११७ बल फेस गर्दा ५ छक्का र ७ चौका प्रहार गरे । मौसम ढकाल १ रनमा नटआउट रहँदा एपीएफले निर्धारित ओभरमा ९ विकेट गुमाएर २४१ रन बनायो । बागमतीका सूर्य तामाङले ३ विकेट लिँदा प्रतिश जिसी र रिजन ढकालले दुई दुई विकेट लिए । यसैगरी सोनु देवकोटाको नाउँमा १ विकेट रह्यो ।
सन्दीप जोरा प्रधानमन्त्री कपको जारी प्रतियोगितामा शतक प्रहार गर्ने दोस्रो खेलाडी भएका छन् । यसअघि शनिबार राशिद खानले शतक प्रहार गरेका थिए ।
बागमती पहिलो जितको खोजीमा छ भने एपीएफले पनि पहिलो खेलमै जितका साथ प्रतियोगिताको यात्रा सुरु गर्ने लक्ष्य लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया