काठमाडौं । बैंक तथा फईनान्स कम्पनीहरुमा अहिले पर्याप्त मात्रामा लगानीयोग्य रकम अर्थात तरलता रहेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अहिले बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम ६० खर्ब ८५ अर्ब रुपैंयाँ रहेको छ भने कुल कर्जा रकम ५० खर्ब ४२ अर्ब रुपैंयाँ रहेको छ ।
सो अनुसार अहिले निक्षेप र कर्जाको बिचमा झण्डै १० खर्ब रुपैंयाँको अन्तर रहेको छ । यो अवस्थामा बैंक तथा फार्ईनान्स कम्पनीहरुकोबिचको निक्षेप र कर्जाबिचको अनुपात अर्थात (सिडि रेसियो) ८० दशमलव १० प्रतिशत रहेको छ । यसो भन्नुको अर्थ बैंकिङ क्षेत्र अझै पनि थप पाँच खर्ब रुपैंयाँको हाराहारीमा कर्जा दिन सक्ने अवस्थामा रहेको छ । बजार पुर्णरुपमा चलायमान हुन नसक्दा अहिले नयाँ कर्जाको माग कम रहेको छ । यसले गर्दा पनि अधिक तरलता बढेको छ ।
तर बैंकिङ क्षेत्रमा यति धेरै मात्रामा अधिकतरलता भएपनि पछिल्लो समय बैंकिङ क्षेत्रमा अन्तर बैंक कारोबार बढेको छ । अन्तर बैंक कारोबार भनेको बैंक तथा फाईनान्स कम्पनीहरुले एक आपसमा छोटो अवधिको लागि गर्ने पारस्पिरिक कारोबार हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो पाँच महिनाको अवधिमा वाणिज्य बैंकहरुको २० खर्ब ८१ अर्ब ६७ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को दुई खर्ब ३६ अर्ब ८६ करोड गरी कुल २३ खर्ब १८ अर्ब ५३ करोडको अन्तर–बैंक कारोबार भएको छ ।
यो कारोबार रकम अघिल्लो आवको सोही अवधिको तुलनामा झण्डै आठ खर्ब रुपैंयाँले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले १५ खर्ब २६ करोड र अन्य वित्तीय संस्थाहरुको एक खर्ब ५३ अर्ब ६० करोड गरी कुल १६ खर्ब ५३ अर्ब ८६ करोडको अन्तर बैंक गरेका थिए ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबार रकम बढेपछि यसको व्याजदर भने कम भएको छ । सो अनुसार अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ मंसिरमा आठ प्रतिशत रहेकोमा २०८० मंसिरमा घटेर दुई दशमलव छ प्रतिशतमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया