भक्का दिवसको रमझम : भारतीय गायिकासँग झुमे दर्शक

लोकपथ
105
Shares

झापा । राष्ट्रिय भक्का (भाका) दिवस झापामा विविध सांस्कृतिक कार्यक्रम गरेर मनाइएको छ । राजबंशी समाज विकास समितिको आयोजनामा प्रत्येक बर्षको पुष २९ गते हुँदै आएको भक्का दिवस झापामा मनाइएको हो ।

२०७४ सालदेखि मनाउन सुरु गरेको भक्का दिवसको यो सातौं संस्करण हो । बिषेशगरी पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजबंशी समुदायले खाजाका रुपमा भक्का उपभोग गर्दै आएका छन् । यो परिकारको प्रचार–प्रसार गर्नका लागि राजबंशी समाज विकास समितिले पुष २९ मा भक्का दिवसको रुपमा मनाउन थालेको हो ।

भक्का दिवसको सातौं संस्करणमा झापाको भद्रपुर र बिर्तामोडमा वृहत सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ । भक्का दिवसको अवसर झापा क्षेत्र नम्बर ३ अन्तरगतका तीनवटा स्थानीय तहले आइतबार बिदा दिएको छ ।भद्रपुर नगरपालिका, हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले स्थानीय बिदा दिइएको हो । ती स्थानीय तहमा अति आवश्यक कामबाहेक कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहेको जनाइएको छ । भक्का दिवसको अवसरमा झापाका स्थानीय तहले पहिलो पटक बिदा दिएको हो ।

आदिवासी राजवंशी समुदायले आफ्नो जाति विशेष परिकार भक्कालाई हरेक वर्ष पुस २९ लाई दिवसको रुपमा मनाउने बताएका छन् । राजवंशी समाज विकास समिति झापाले बिर्तामोडको डोमालाल राजबंशी रंगशाला र भद्रपुर–६ स्थित सिटी गार्डेन होटेलमा प्रथम राष्ट्रिय भक्का दिवस मनाएका छन् । बिर्तामोडमा १५० जना र भद्रपुरमा २५ जनाले सामूहिक रुपमा माटोको भाडामा भक्का बनाएका छन् ।

समाजका अध्यक्ष अभय राजबंशीका अनुसार बिर्तामोडमा हजारौंले भक्का उपभोग गरेका छन् । उनले दुई हजार केजी चामलको भक्का निःशुल्क वितरण गरिएको बताए । विभिन्न स्वादका अचार र तरकारीसहितको स्टल राखेर भक्का वितरण गरिएको उनले बताए । भद्रपुरमा दुई हजारदेखि २५ सय जनालाई निःशुल्क भक्का खुवाइएको थियो ।

राजवंशीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवद्र्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले भक्का दिवस मनाउँदै आएको उनको भनाइ छ । कार्यक्रमलाई भव्य बनाउन भारतीय गायिका नीलाञ्जना रायले सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

भारतीय रियालिटी शोबाट राय सांगीतिक क्षेत्रमा उदाएकी हुन् । भारतको पश्चिम बंगालकी राय सन् २०२२ को सारेगमपको विजेता हुन् भने २०१७ को भ्वाइस अफ इन्डिया किड्सको उपविजेता र २०१८ को इन्डियन आइडल जुनियरमा तेस्रो भएकी थिइन् ।

राजवंशी समुदायका छोरीचेलीलाई चिसो छल्न माईत बोलाई भक्का खुवाएर खुसी बनाउने चलन छ । भक्का राजवंशी समुदायको मौलिक परिकार हो । जाडोयाम सुरु भएसँगै चोक चोकमा विहान बेलुका भक्का बनाएर बेच्ने चलन छ । चामलको पिठोबाट पानीको तातो बाफले बनिने यो परिकार खाजाको रुपमा खाने प्रचलन बसिसकेको छ ।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका पर्यटन, बन तथा वातावरणमन्त्री गणेश उप्रेतीले गरेका थिए । उनले आदिवासीको मौलिक परिकार भक्काको माध्यमबाट पनि पर्यटन विस्तार गर्न सहयोग पुग्ने धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?