आज माघ १ गते अर्थात् माघे संक्रान्ति । यसलाई कतै मकर संक्रान्ति त कतै माघी पनि भनिन्छ । फरक–फरक समुदायमा भिन्न नामले चिनिने यो पर्व मैथिली र थारू समुदायमा नयाँ वर्षका रूपमा मनाइँदै आइएको छ ।
नेवारी समुदायमा भने ज्यू र चाकु संल्हु नामले माघे संक्रान्ति पर्व मनाइन्छ । माघे संक्रान्तिलाई मगर समुदायले राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । माघे संक्रान्तीमा तारो हान्ने खेल यो समुदायमा प्रचलित छ । थारू समुदायमा सुँगुरको मासु खाएर धमार गाउँदै माघी मनाउने चलन छ । माघीको दिन काभ्रेको पनौतीमा मकर मेला लाग्छ । यसै दिन अधिकांश स्थानमा चाकुमा तिल मिसाएर बनाइएको लड्डु, तिलौरा, चाकु, भुजाको लड्डु, मिठाई, खिचडी, पिँडालु खान्छन् ।
साथै, क्षेत्री, बाहुन, राई, लिम्बू, गुरुङ आदि सबै समुदायले माघे संक्रान्तिलाई आ–आफ्नो परम्पराअनुसार मनाउने गर्छन् । उनीहरुले ज्यू, तरुल, चाकु, खिचडी आदि परिकार खाने गर्छन् । माघी पर्वलाई धार्मिक मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत हेरिन्छ । यस दिन स्नान वा घर–आँगनको सरसफाइ नगरे सात जन्मसम्म रोगी र निर्धन भइने किंवदन्ती छ । यो दिन दान दिँदा राम्रो हुन्छ भनिन्छ ।
तिलको लड्डु र खिचडीको महत्व
पौराणिक कथाहरूमा उल्लेख भएअनुसार खिचडी भगवान् शिवले आविष्कार गरेका थिए । शिवका अवतार मानिने गोरखनाथ बाबाले सजिलोका लागि आफ्ना सैनिकहरूलाई खिचडी बनाउन लगाएका थिए । यसरी पकाउन सजिलो, स्वादिष्ट हुने तथा शरीरलाई ऊर्जासमेत दिने भएकाले यसलाई विशेष रूपले खान थालियो ।
माघीमा खाइने खाद्यपदार्थ आयुर्वेदसँगै चिकित्साशास्त्रमा पनि स्वास्थ्यका लागि उपयोगी मानिन्छ । जाडो महिनामा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढ्ने गर्छ । मास हालेर पकाइएको तेल शरीरमा लगाउँदा चिसोबाट मुक्त भइन्छ । साथै, छालासम्बन्धी रोगहरूबाट समेत राहत मिल्छ ।
माघे संक्रान्तिमा तिलको लड्डु, घिउ, चाकु, तरुल र खिचडी खाने प्रचलन छ । यसरी विशेष खानेकुरा खानुका पछाडि विभिन्न किंवदन्ती पाइन्छ । श्रीमद्भागवत महापुराणमा उल्लेख भएअनुसार भगवान् सूर्यदेवमा क्रोध उत्पन्न भयो । उनले क्रोधका कारण पुत्र शनिदेवको कुम्भ जलाइदिए । यसकारण शनिदेवले धेरै दुःख पाए । उनको राशि कुम्भ पूरै जलिसकेकाले उनीसँग कालो तिल मात्रै बाँकी रह्यो । यसर्थ, शनिदेवले पिता सूर्यदेवलाई खुसी पार्नका लागि कालो तिलले पूजा आरधना गरे । त्यो माघे संक्रान्तिको दिन थियो । पछि सूर्यदेव प्रसन्न भए र शनिको घर मकर राशिमा प्रवेश गराई धनधान्यले पूर्ण हुने वरदान दिए । यसरी मकर संक्रान्तिका दिन कालो तिलको विशेष महत्व हुन थालेको हो ।
माघे संक्रान्ति भनेको जाडो याममा मनाइने पर्व हो, जसले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ । ज्योतिष विज्ञानको मान्यता छ, यो दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्छ ।
तरुल वा कन्दमुल यो सिजनको मौसमी खानेकुरा हुन् । प्राकृतिक रुपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि विशेष हुन्छ । अन्य बालीनाली नहुने र भण्डारण गरिएको खानेकुरा पनि सकिएको अवस्थामा कन्दमुल खाएर पनि प्राण धान्ने पुरानो चलनको निरन्तरता हो यो । अहिले पनि मौसमी चक्र अनुसार खानपान शैली अपनाउने हो भने कन्दमुल खानु निकै उपयोगी हुन्छ । यो पर्व स्वास्थ्य र समाजसँग पनि एकाकार छ । बाँडिचुँडी खानुपर्छ, परिवार मिल्नुपर्छ भन्ने शिक्षा दिन्छ यो पर्वले ।
यसैबिच चौधरी–थारु बस्तीमा के बूढा, के तन्नेरी, सबै उमेर समूहलाई माघीको रौनकले छोप्ने गरेको हुन्छ । पश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारु बस्तीमा माघ महिनाको शुरुवातदेखि नै माघी पर्वलाई विशेष रुपमा मनाइन्छ । माघ १ गतेदेखि शुरु हुने सप्ताहव्यापी यस पर्वमा थारु समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको छ ।
माघीको पूर्वसन्ध्यामा थारु बस्तीमा बंगुर काट्ने, बेलुकी खानपिन गर्र्दै रमाइलो गर्ने प्रचलन रहेको छ । थारु समुदायले माघी पर्वका अवसरमा विशेषतः ढिक्री, तरुल, सखरखण्ड र फर्सी उसिनेर खाने प्रचलन रहिआएको छ । माघीको अघिल्लो रात सँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भन्ने प्रचलन छ । त्यस रात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्छ । माघीको दिन (माघ १ गते) झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुकाउने प्रचलन छ । माघीका अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अञ्जानवश गरिएको पाप नाश हुने धार्मिक मन्यतासमेत रहेको छ । आज माघे संक्रान्ती पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया