पोखरा । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा जारी प्याराग्लाईडिङतर्फ त्रिभुवन आर्मी क्लबले एक्यूरेसी र क्रसकन्ट्री तर्फका दुबै इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थानमा रहेको छ ।
दोश्रो दिनको खेल जारी रहँदा सम्म एक्यूरेसी टिम इभेन्टमा नेपाल सेनाले हिजोको आफ्नो प्रदर्शनलाई दोहो-याउँदै १ सय ४५ अंकका साथ प्रथम स्थानमा रहेको छ । त्यसै गरि प्रदेश नं १, ९ सय ५५ अंकका साथ दोश्रो र गण्डकी प्रदेश १३ सय ५५ अंकका साथ तेश्रो स्थानमा उभिएको छ ।
पुरुष ईन्डिभिजुअल एक्यूरेसीतर्फ पनि आर्मीले आफ्नो उत्कृष्ट प्रदर्शन दोहो-याउँदै प्रथम स्थानमा नै आफूलाई उभ्याएको छ । पुरुष ईन्डिभिजुअल एक्यूरेसीमा आर्मीका खेलाडीहरु सागर जलारी र सागर नेपाली बिच तिब्र प्रतिष्पर्धा देखिएको छ ।
जलारी ८ अंकका साथ अग्रस्थानमा छन भने नेपाली ११ अंकका साथ दोश्रो स्थानमा छन । प्रदेश नं १ का रोशन बस्नेत १९ अंकका साथ तेश्रो स्थानमा छन ।
महिला ईन्डिभिजुअल एक्यूरेसीतर्फ समेत आर्मी अग्र स्थानमा रहेको छ । दुई दिनको खेल तालिकामा नेपाली सेनाकी दुर्गामाया १ सय ७७ अंकका साथ प्रथम स्थानमा उक्लिएकी छिन् । त्यसै गरि गण्डकी प्रदेशकी सबिता तामाङ २ सय ८७ अंकका साथ दोश्रो र गण्डकी प्रदेशकै प्रतिभा बोगटी ३ सय ७९ अंकका साथ तेश्रो स्थानमा रहेकी छिन् ।
टिम एक्यूरेसी र ईन्डिभिजुअल एक्यूरेसीको दुई दिनको खेलमा ४ राउण्डका खेल सम्पन्न भएको हो । आज ‘सोमवार’ अन्तिम एक राउण्डको खेल बाँकी रहेको इभेन्ट म्यानेजर बिमल अधिकारीले जानकारी दिए ।
यता क्रसकन्ट्रीतर्फ ३० किलोमिटरको टास्क सम्पन्न भएको छ । क्रसक्रन्ट्रीतर्फ पनि आर्मी क्लबले उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ । क्रसकन्ट्री टिम इभेन्टमा ५९३३ अंकका साथ पहिलो स्थान बनाएको छ भने गण्डकी प्रदेश ५८९३ का साथ दोश्रो र प्रदेश ३ ५६९५ का साथ तेश्रो स्थानमा रहेको छ ।
क्रस कन्ट्री इन्डिभिजुअल पुरुषतर्फ आजको खेलमा नेपाली सेनाका सुरज थापाले ९ सय १३ अंक बटुलेका छन भने गण्डकीका आशिष थापाले ८ सय ६९ र नेपाली सेनाका निशिन थापाले ८ सय १८ अंक बटुलेका छन । पुरुष इन्डिभिजुअलतर्फ अंकका आधारमा ओभरअलमा नेपाल सेनाका सुरज थापा १७४६ अंकका साथ प्रथम स्थानको नजिक देखिएका छन भने प्रदेश ३ का कृष्ण बहादुर सुनुवार १६११ अंकका साथ दोश्रो र नेपाली सेनाकै विशाल थापा १६०६ अंकका साथ तेश्रो स्थानमा रहेका छन ।
यसै गरि महिला क्रस कन्ट्री इन्डिभिजुअलतर्फ गण्डकी प्रदेशकी त्रिशा वमजन ७ सय ७७ अंकका साथ प्रथम, प्रदेश १ की सुष्मिता सुनुवार २ सय ८८ अंकका साथ दोश्रो र नेपाली सेनाकी स्वस्तिका गुरुङ २ सय ७९ अंकका साथ तेश्रो स्थानमा छन ।
नेपालको खेल इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएको प्याराग्लाइडिङ खेलमा विभागिय टिम नेपाली सेना र ५ प्रदेश गरि कुल ६ टिमका ५९ जना खेलाडीले ६ वटा स्वर्ण पदकका लागि भिडिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया