काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुमा खराब कर्जाको मात्रा निकै नै बढेको देखिएको छ । अर्थतन्त्रमा बिगतमा देखिएको शिथिलता संगै वाणिज्य बैंकहरुको कर्जाको सावाँ व्याज असुलीमा समस्या देखिंदा पछिल्लो समय बैंकहरुमा खराब कर्जा बढेको हो ।
बैंक तथा फाईनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा प्रवाह सम्वन्धी नेपाल राष्ट्र बैंकको चालु आर्थिक बर्षको पछिल्लो प्रतिवेदन अनुसार वाणिज्य बैकहरुले कुल ५३ खर्ब २५ अर्ब आठ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब १४ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो परिमाणमा कर्जा प्रवाह गर्दा वाणिज्य बैंकहरुमा औषत तीन दशमलव ६१ प्रतिशत कर्जा खराब देखिएको छ । बैंकहरुको देखिएको यो खराब कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ७८ प्रतिशतले बढी हो ।
राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले ४६ खर्ब २३ अर्ब ५७ करोड १० लाख रुपैंयाँ निक्षेप संकलन गरी ४२ खर्ब ३९ अर्ब १९ करोड ४० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए । यस अवधिमा वाणिज्य बैंकहरुमा औषतमा एक दशमलव ८३ प्रतिशत मात्र कर्जा खराब देखिएको थियो । राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा खराब कर्जा बढ्नु वित्तीय स्वास्थका दृष्टिकोणले राम्रो होईन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया