सेपकताक्रोमा आर्मीद्वारा क्लिन स्विप

बर्दिया । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रो प्रतियोगितामा समावेश चारै स्पर्धाको उपाधिमाथि आर्मीले कब्जा जमाएको छ ।

बर्दियाको गुलरियामा भएको पुरुष डबल्सको  फाइनल खेलमा आर्मीले प्रदेश ३ लाई २१–१७ र २१–१२ को सोझो सेटमा पराजित ग-यो । त्यसअघि आर्मीले महिला डबल्स तथा पुरुष/महिला रेगुको फाइनल जितेको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुरुष÷महिला दुवैमा आर्मी, प्रदेश १, ३, ४, ५ र ७ गरी ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै राष्ट्रिय ह्यान्डबलको पुरुषमा एपीएफ र गण्डकी प्रदेश उपाधिका लागि भिड्ने भएका छन् ।

नेपालगन्ज रंगशाला परिसरमा भएको सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली आर्मीलाई ३२–२६ ले पराजित ग-यो । एपीएफका लाकेन्द्र चन्दले ९ गोल गरे । अर्को सेमिफाइनलमा गण्डकीले प्रदेश ३ लाई ४०–१८ को फराकिलो गोलअन्तरले हरायो ।

गण्डकीका दिनेश श्रेष्ठ तथा करण थापाले समान ७–७ गोल गरे । प्रदेश ३ का अमर श्रेष्ठले पनि ७ गोल गरे ।

नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालयको मैदानमा भएको प्रतियोगिताअन्तर्गन महिलाको उपाधि भिडन्त दुवै विभागीय टोली आर्मी र एपीएफबीच हुने भएको छ । 

आर्मीले प्रदेश १ लाई ३८–१७ ले पाखा लगायो । आर्मीकी कविता राईले ११ गोल गरिन् । एपीएफले गण्डकीलाई २२–४ ले पन्छायो । एपीएफकी देवी श्रेष्ठले ७ गोल गरिन् । पुरुष÷महिला दुवैको फाइनल मंगलबार नेपालगन्ज रंगशाला परिसरमा अपरान्ह ३ः०० बजेदेखि शुरु हुनेछ । 

त्यस्तै कराँतेको पुरुष ८४ केजीमुनि प्रहरीका दिवस श्रेष्ठले स्वर्ण पदक जितेका छन् । फाइनलमा उनले एपीएफका भीम तामाङलाई १३–५ ले पराजित गरे ।

पुरुष ७५ केजीमुनि प्रहरीका गंगाराम कुश्वाहाले प्रदेश ५ का उमेश गुरुङलाई ५–३ तथा ६७ केजीमा प्रदेश ४ का नविन रसाइलीले एपीएफका सुवास घतानेलाई ९–१ ले हराउँदै स्वर्ण जिते ।

महिला ४८ केजीमुनि आर्मीकी सन्नी तामाङले प्रदेश ३ की निरुपमा तामाङलाई ७–२ तथा ६१ केजीमुनि प्रहरीकी एसतर राईले एपीएफकी मनीषा चौधरीलाई ३–२ ले पाखा लगाउँदै पहिलो भए । महिला ५५ केजीमुनि प्रदेश १ की अस्मिता राईले स्वर्ण जितिन् ।

एपीएफकी सोनी राई विरुद्धको खेलमा अस्मिता ‘सेन्सुइ’ का आधारमा विजयी भइन् । निर्धारित समयको खेल ५–५ को बराबरीमा सकिएको थियो ।

त्यसैगरि खो खोको पुरुषमा आर्मी, प्रदेश ५, प्रदेश २ र प्रदेश ३ सेमिफाइनलमा पुगेका छन् । महिलामा आर्मी, प्रदेश ५, सुदूरपश्चिम प्रदेश र प्रदेश ३ ले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यता १९ औँ  महिला तथा  पुरुष राष्ट्रिय आइटिएफ प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न पुरुष ५६–६० किलो तौल समुहमा आर्मीका दिनेस बुढा मगरले स्वर्ण पदक जितेका छन् । प्रदेश नम्बर तीनका कासाङ दोर्जे लामाले रजत तथा एपीएफका प्रज्वल गड्तौला र प्रदेश नम्बर पाचका राजु चौधरीले कास्य पदक जिते ।

६१–६५ किलो तौल समुहमा एपीएफका गोविन्द धिमालले स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशका प्रविण थापा मगरले रजत तथा प्रदेश नम्बर तीनका आशिष भुजेल र प्रदेश नम्बर पाचका विवेक नेपालीले कास्य पदक जिते ।

६६–७० किलो एक नम्बर प्रदेशका दिलेन राइले स्वर्ण पदक जिते । एपीएफका नाङगेल तामाङले रजत तथा आर्मीका ललीत बहादुर बस्नेत र प्रदेश नम्बर तीनका सकिर श्रेष्ठले कास्य पदक जिते । ७१–७५ किलो तौल समुहमा आर्मीका भिम बहादुर तामाङ पहिलो तथा एपीएफका हर्कलाल राजबंशी दोश्रो भए ।

एक नम्बर प्रदेशका निसान खत्री र प्रदेश नम्बर तीनका  डेविड घलेले कास्य पदक जिते ।

महिलाको ४६–५० किलो तौल प्रदेश नम्बर पाचकी सुस्मिता राना मगरले स्वर्ण पदक जित्दा, तीन नम्बर प्रदेशकी निलिमा सुनुवारले रजत पदक जितिन् । सात नम्बर प्रदेशकी सिमा रसाइली र प्रदेश नम्बर पाचकी ममता गाहले काश्य पदक जिते ।

५१–५५ किलो तौल समुहमा आर्मीकी रिना धमिलले स्वर्ण र एपीएफकी सञ्चिता लामाले रजत पदक जिते । गण्डकी  प्रदेशकी गंगा थारु  र प्रदेश नम्बर दुइकी सविना श्रेष्ठले कास्य पदक जिते । विजेता खेलाडीलाई सोमबार नै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सीना र नेपाल आइटिएफका अध्यक्ष अन्जन धमला लगायतले पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?