काठमाडौं । अफ्रिका कप अफ नेशन्समा गुएना र नाइजेरिया विजयी भएका छन् । समूह एबाट दुवै टिमले जित निकाल्दै तालिकामा चार चार अंक बनाएपछि अन्तिम १६ प्रवेशको सम्भावनालाई पनि बलियो बनाएका छन् । गुएना शीर्ष र नाइजेरिया दोस्रो स्थानमा छ ।
गुएनाले गिनीलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो । गुएनाको जितमा इमिलियो नासुले ह्याट्रिक गर्दा जोस एन्टोनियो मिरान्डाले एक गोल थपेका थिए ।२१ औं मिनेटमा इमिलियोले गोल गर्दै गुएनलाई अग्रता दिलाए । ३७औं मिनेटमा गुएनाकै एस्टेबन ओवियाङले आफ्नै पोस्टमा गोल गरेपछि गिनीले पहिलो हाफमै बराबरी गरेको थियो । तर, दोस्रो हाफको सुरुमा जोस एन्टोनियोले गोल गरेपछि गुएनाले अग्रता २–१ को बनायो ।
५१ औं र ६१ औं मिनेटमा लगातार गोल गर्दै गुएनाका इमिलियोले ह्याट्रिक पूरा गरेपछि गुएना ४–१ को सहज अवस्थामा पुगेको थियो । दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा गिनीका लागि जोस कोरेराले गोल फर्काएर अन्तर ४–२ मा झारे पनि हार टार्न भने पर्याप्त भएन ।
यस्तै,समूह ए मै रहेको नाइजेरियाले आइभरी कोस्टलाई १–० गोल अन्तरले पराजित गरेको छ । ५५ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै नाइजेरियाले अग्रता लिएको थियो । नाइजेरियाका विलियम इकोङले पेनाल्टीमा गरेको एकमात्र गोल नै नाइजेरियालाई जित दिलाउन पर्याप्त भयो ।
उता, समूह बीमा इजिप्टले दोस्रो बराबरी खेलेको छ । इजिप्टले घानासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।खेलाडी मोहमद सलाहको इजिप्टले दुई पटक पछि परेको अवस्थामा बराबरी गर्दै अंक लिन सफल भयो । पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा घानाका मोहमद कुडुसले गोल गर्दै अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा ओमर मारमोसले बराबरी गर्दै इजिप्टलाई खेलमा फर्काए । ७१ औं मिनेटमा घानाका लागि कुडुसले व्यक्तिगत दोस्रो गोल गर्दा टिम २–१ ले अघि बढेको थियो । ७४ औं मिनेटमा मोस्तफा मोहमदले गोल गरेपछि इजिप्टले २–२ को बराबरी गर्दै महत्वपूर्ण एक अंक लिन सफल भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया