काठमाडौं । बैकहरुको खुद मुनाफामा आर्थिक मन्दीको असर देखिएको छ ।
अर्थतन्त्रमा आएको मन्दीका कारण बैंकहरुको कर्जाको साँवा ब्याज असुली प्रकृयामा समस्या देखिँदा सञ्चालनमा रहेका २० वटा मध्ये अधिकांश बैंकहरुको खुद मुनाफा घटेको छ ।
बैंकहरुले आईतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद मुनाफा गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा ९ दशमलव ९४ प्रतिशतले घटेको छ । गत आवको पुस मसान्तसम्ममा ३१ अर्ब ९४ करोड ११ लाख २५ हजार रुपैंयाँ खुद मुनाफा कमाएका वाणिज्य बैंकहरुको नाफा घटेर चालु आवको दोस्रो त्रैमासिक अवधिमा २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैंयाँमा सिमित भएको छ ।
अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नबिलले तीन अर्ब २० करोड ३० लाख ७९ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा ग्लोवल आईएमई बैंकले दुई अर्ब चार करोड २३ लाख २९ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा नबिलले तीन अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा ग्लोवलले दुई अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो ।
चालु आवको दोस्रो त्रैमासमा कृषि बिकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेटष्मेन्ट मेगा बैंकले भने क्रमशः एक अर्ब ३५ करोड ५२ लाख, दुई अर्ब एक करोड ५३ लाख, एक अर्ब ८१ करोड एक लाख ९४ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया