विराटनगर । हिसान स्पोर्टस मिटको १२औं संस्करण बुधबार सुरु हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) ले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो ।हिसान मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै बुधबारदेखि हिसान स्पोर्टस मिटको १२औं संस्करण गर्न लागेको जानकारी दिएको हो ।
‘हिसान मोरङको मूल मन्त्र शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने नाराका साथ माघ १० देखि माघ १६ गतेसम्म खेलकुद प्रतियोगिता आयोजना गरेको हिसान मोरङका अध्यक्ष अमित ढकालले जानकारी दिए ।खेलकुदको माध्यमबाट अनुशासन कायम राख्दै, स्वास्थ र सार्वभौमिकताको रक्षा गर्न सक्ने देशभक्त नागरिक उत्पादन, लागुपदार्थको कुलतबाट युवाहरुलाई जोगाउँदै राष्ट्रिय स्तरका खेलाडी तयार गर्न उद्देश्यका साथ स्पोर्टस मिट गर्न लागेको उनले उल्लेख गरे ।
अध्यक्ष ढकालले भने, ‘०६५ सालदेखि निरन्तर रुपमा खेलकुदका कार्यक्रम आयोजना गर्दै आएका छौं । पढाइका साथै खेलकुद पनि विद्यार्थीहरुको एउटा अंग हो किनभने खेलकुदले विद्यार्थीहरुलाई शारीरिक तन्दुरुती मात्रै होइन उनीहरुको मन मस्तिष्कलाई पनि चलाएमान बनाउँदै दुवै क्षेत्रका आफ्नो प्रतिभा देखाउन सक्छन् ।’
हिसान स्पोट्र्स मिटमा हिसानसँग आवद्ध कलेजहरुले मात्रै भाग लिन पाउने छन् । यसपटकदेखि स्पोट्र्स मिटमा छात्रा फुटबल र कवडी खेल सहभागि गराएको अध्यक्ष ढकालले बताए ।यस स्पोट्र्स मिटमा फुटबल छात्र तथा छात्रा, क्रिकेट (छात्र), बास्केटबल (छात्र), कवड्डी (छात्र) भलिबल (छात्र तथा छात्रा), टेबलटेनिस सिंगल र डबल्स (छात्र–छात्रा), एथलेक्टिसका खेलहरु हुने छन् ।
प्रतियोगितामा विभिन्न खेलमा २९ वटा कलेजहरुका १ हजार २ सय बढी विद्यार्थीहरुले सहभागिता जनाउने भएका छन् । आयोजकको तर्फबाट विजेता तथा उपविजता खेलाडीहरुले ट्रफी, मेडल प्राप्त गर्ने छन् भने खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी विजेता भए कलेजहरुले आन्तरिक रुपमा छात्रवृत्ति दिने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया