इलाम गोल्डकप फाइनल : एनआरटी र बिर्तामोड उपाधिका लागि भिड्दै

लोकपथ
203
Shares

विराटनगर । उपाधि जित्नका लागि न्युरोड टिम (एनआरटी) र झापाको बिर्तामोड युनाइटेड आज शनिबार इलाम गोल्डकपको फाइनलमा भिड्दैछन् ।

इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा आज दिउँसो हुने फाइनल खेलबाट उपाधि विजेताको टुंगो लाग्नेछ ।

अनुभवी खेलाडीको बाहुल्य रहेको एनआरटी र खेल कौशलमा दक्ष खेलाडीले सहभागी बिर्तामोडबीच हुने खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

यसअघि यी दुई टिमले गरेको प्रदर्शन प्रभावशाली भएकाले फाइनलमा कसले बाजी मार्ला भन्ने अनुमान गर्न भने कठिन छ ।

एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लबलाई पन्साउँदैदै फाइनल यात्रा तय गरेको हो । उसले क्वार्टरफाइनलमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो ।

बिर्तामोड युनाइटेड पाँचथरलाई सेमिफाइनलमै रोक्दै फाइनलसम्म आइपुगेको हो । उसले क्वार्टरफाइनलमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो ।

दुवै टिमले फाइनल खेलमा विजयी हुने दाबी गरेका छन् । प्रतियोगिताभरिको प्रदर्शनका क्रममा देखिएको एकअर्का टिमको खेल कौशल र रणनीतिअनुसार आफ्नो रणनीति बनाएर मैदानमा उत्रने दुवै टिमको योजना छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले पाँच लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

यसैगरी, उपविजेता टिमले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ ।प्रतियोगिताका हरेक खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई पुरस्कार दिइँदै आएको छ ।

आयोजक रेडहर्स फुटबल क्लब इलामका अनुसार प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपरलगायत विभिन्न विधामा पनि खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?