विराटनगर । न्युरोड टिम (एनआरटी) ले इलाममा जारी इलाम गोल्डकपको उपाधि हात पारेको छ ।
आज शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ४–३ गोलन्तरले पराजित गर्दै एनआरटीले उपाधि उचालेको हो ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो ।
त्यस क्रममा एनआरटीका सुुमित श्रेष्ठ, जय गुरुङ, विदेशी खेलाडी पिसो र विवेक गुरुङले गोल गरे । एनआरटीका राजीव लोप्चनको प्रहार झापाका गोलकिपरले बचाए ।
बिर्तामोड युनाइटेडका हिसुब थपलिया आजको खेलको म्यान अफ् दि म्याच घोषित भए । आजको फाइनलमा एनआरटीका राजीव लोप्चनले पहेँलो कार्ड पाए ।
एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टरफाइनलमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो । बिर्तामोडले सेमिफाइनलमा पाँचथरलाई र क्वार्टरफाइनलमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो ।
विजेता टिम एनआरटीले पाँच लाख रुपैयाँसहित ट्रफी हात पारेको छ भने उपविजेता बिर्तामोड युनाइटेडले तीन लाख रुपैयाँ पुरस्कार पाएको छ ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपरका रुपमा एनआरटीका प्रिसो पुरस्कृत भए । उत्कृष्ट मिडफिल्डरका रुपमा बिर्तामोड युनाइटेडका योगेश गुरुङ, उत्कृष्ट बेस्ट फरवर्डमा एनआरटीका राजीव लोप्चन र उत्कृष्ट प्रशिक्षकमा एनआरटीका हरिहोम श्रेष्ठ पुरस्कृत भए ।
यसैगरी, राइजिङ प्लेयरका रुपमा इलामका गोलरक्षक विवेक मगर, सर्वाधिक गोलकर्तामा इलामकै नवयुक श्रेष्ठ (४ गोल) ले पुरस्कार पाए ।
प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीका रुपमा बिर्तामोड युनाइटेडका रोहन कार्कीले पुरस्कार प्राप्त गरे ।
इलामको रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता माघ ६ मा सुरु भएको थियो । प्रतियोगितामा दार्जिलिङको एउटा टिमसहित आठवटा टिमको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया