स्वास्थ्य बिमा गरेको सेवाग्राहीले सुविधा नपाएपछि जनप्रतिनिधिद्वारा अनुगमन

लोकपथ
42
Shares

विराटनगर । अस्पतालमा सञ्चालित औषधि पसलबाट स्वास्थ्य बिमा गरेका सेवाग्राहीले सुविधा नपाएको गुनासो बढेपछि जनप्रतिनिधिले अनुमगन गरेका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला कोशी अस्पतालभित्र सञ्चालित औषधि पसलको अनुगमन गरेका हुन् ।

अस्पतालभित्र सञ्चालित औषधि पसलमा स्वास्थ्य बिमाको सुविधाबाट औषधि नपाउने गरेको व्यापक गुनासो आएपछि उपमेयर शिल्पा निराला कार्कीसहितको टोली पुगेर अनुगमन गरिएको हो ।अनुगमन टोलीले स्वास्थ्य बिमा सुविधामा उल्लेख भएअनुसारका औषधि पसलमा भए नभएको बुझेको थियो ।

जनताको सुविधाका लागि नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको बताउँदै मेयर कोइरालाले जनतालाई दुःख दिने काम नगर्न निर्देशन दिए । सेवाग्राहीलाई सहज रुपमा उपचार सेवा दिन साथै औषधि समेत उपलब्ध गराउन अनुगमन टोलीले निर्देशन दिएको थियो ।

अस्पतालका डाक्टरले स्वास्थ्य बिमामा पाउने औषधिसमेत नलेखी अन्य औषधि लेख्ने गरेको गुनासोसमेत आएको महानगरले जनाएको छ ।स्वास्थ्य बिमा गरेका सेवाग्राहीहरुले सहज रुपमा उपचार सेवा नपाउने गरेको, निःशुल्क पाउने औषधि समेत नपाएको जस्ता धेरै गुनासो आएपछि जनप्रतिनिधिहरुले अनुगमन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?