अजित मिजार हत्या प्रकरणमा अनुसन्धान फितलो

लोकपथ
357
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अजित मिजारको हत्या प्रकरणमा अनुसन्धान फितलो भएको बताएका छन् ।अजित मिजारको हत्या प्रकरण र संसदीय न्याय प्रणाली विषयक राजधानीमा सोमबार आयोजित अन्तरक्रिया उनले मिजारको शवको करिब ७ वर्षसम्म अन्त्येष्टी नहुनुले उक्त काण्डमा प्रहरीको अनुसन्धान फितलो भएको बताए ।

उनले भने, ‘अदालतमा विचाराधीन मुद्दामा धेरै खोतल्न मिल्दैन । तर, मैले जति बुझेको, अध्ययन गरेको छु, त्यसअनुसार अजित मिजार हत्याकाण्डको अनुसन्धान फितलो भएको छ । अहिलेसम्म पनि शवको अन्त्येष्टि गरिएको छैन् । यो एउटा विषय बाँकी नै छ । उनको परिवार अहिले पनि पीडामा छ । उहाँहरुलाई न्याय दिलाउन हामीले साथ दिनुपर्छ, न्यायको पक्षमा बोल्नुपर्छ ।’

नेपाल बार एसोसिएसनको सहभागिता जाहेरवालाको पक्षबाट हुने उल्लेख गर्दै उनले घटनाको फाइल उपलब्ध गराए आफूहरु न्यायको पक्षमा उभिने स्पष्ट पारे ।निर्दोष फस्न नहुने र दोषीले सजाय पाउनुपर्ने बार एसोसिएसनको उद्देश्य रहेको भन्दै उनले घटनाको न्यायिक निष्कर्षमा जोड दिए ।

मिजारको न्यायका लागि दलित संघ संगठनहरुले आन्दोलन घोषणा गरेका छन् । एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्चले अजित मिजारको न्यायको माग गर्दै विभिन्न चरमा आन्दालन गरिरहेका हुन् ।माघ २० देखि २५ गतेभित्र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र माघ ३० गते प्रदर्शन गर्ने उनीहरूको घोषणा छ । यसअघि उनीहरूले माघ ६ गते मिजारको न्यायको लागि संघर्षरत कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए ।
के थियो घट्ना ?

पाँचखाल नगरपालिका–७ का अजित मिजार ०७१ सालदेखि पाँचखालनजिकै ज्याम्दीकी पराजुली थरकी किशोरीसँग प्रेममा थिए । दुई वर्षपछि २५ असार ०७३ मा उनीहरूले अन्तरजातीय प्रेम विवाह गरे । केटी पक्षबाट उमेर नपुगेको देखाई उनीहरूको जोडी छुट्याइयो । त्यसको भोलिपल्ट २९ असार ०७३ मा घरबाट तामाघाट बजार जान निस्किएका अजित घर फर्केनन्, उनको शव धादिङमा भेटियो । अन्तरजातीय प्रेमकै कारण अजितले ज्यान गुमाएको परिवारको दाबी छ ।

‘न्याय खोज्दाखोज्दै ७ वर्ष बित्यो । अजितको हत्या नै हो भन्ने हजारौं प्रश्न छन् । तर, ठोस प्रमाण नभएको भन्दै न्याय पाइएको छैन,’ अजितका बाबु हरिभक्त भन्छन् ।पाँच वर्षदेखि हरिभक्तले कहिले धादिङ त कहिले काठमाडौं धाइरहेका छन् । अजितको परिवारको किटानी जाहेरीपछि प्रहरीले उनकी प्रेमिकाका बुवा भोजराज पराजुली, दिदी सम्झना र काका पर्ने टेकबहादुरलाई पक्राउ गरेको थियो । तर, वस्तुनिष्ठ प्रमाण नपुगेको भन्दै जिल्ला अदालत धादिङले उनीहरूलाई २० जेठ ०७७ मा सफाइ दियो । अहिले उच्च अदालत पाटनमा मुद्दा विचाराधीन छ । ७ वर्षदेखि पीडित परिवार न्यायको पर्खाइमा छन् । अजितको शव अझैसम्म त्रिवि शिक्षण अस्पतालको शवगृहमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?