काठमाडौं । भारतकी स्वर साम्राज्ञी लता मंगेशकरको निधन भएको आज २ वर्ष पुरा भएको छ ।
कोभिड–१९ बाट सङ्क्रमित भएपछि उनलाई ब्रीच क्याण्डी अस्पताल भर्ना गरिएको थियो । कोभिडसँगै निमोनिया समेत देखिएपछि लतालाई २९ दिनसम्म अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर, स्वास्थ्यमा सुधार हुन नसकेपछि उपचारको क्रममा उनको ९२ वर्षको उमेरमा सन् २०२२ फेब्रुवरी २ मा निधन भएको थियो। भारतकी नाइटिङ्गेलको उपनामले चिनिएकी मंगेशकरको भारतमा मात्र नभएर धेरै देशमा उनको जादुमय आवाजको फ्यानहरु छन् ।
२८ सेप्टेम्बर १९२९ मा इन्दौरमा जन्मेकी भारतकी लताको जीवन उपलब्धिहरूले भरिएको छ। उनी संगीतकारको आइडल मात्र नभई संगीतप्रेमीहरु माझ सधै चर्चामा रहने गर्थिन् । उनले हिन्दीसहित ३६ भाषामा ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् । उनले भारतीय संगित उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएर थुप्रै उपलब्धिहरु हासिल गरेकी छन् ।
जादुमय स्वरकी धनी उनले आजीवन विवाह गरिनन् । एक अन्तर्वार्ताका क्रममा लता मंगेशकरले विवाह नगर्नुको कारण बताएकी थिइन् । सानै उमेरबाट काम गर्न थालेको र घरका सबै सदस्यको जिम्मेवारी आफूमाथि भएकोले बिहे गर्ने सोच धेरै पटक आएपनि विवाह नगरेको बताएकी थिइन् ।
रोयल अल्बर्ट हलमा प्रदर्शन गर्ने पहिलो भारतीय
लता मंगेशकर १९७४ मा रोयल अल्बर्ट हलमा प्रदर्शन गर्ने पहिलो भारतीय बनिन्। उनको उपलब्धि यति धेरै थियो कि त्यही वर्ष उनको नाम गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा लेखियो । उनलाई भारतीय संगीतको इतिहासमा सबैभन्दा धेरै गीत रेकर्ड गर्ने कलाकार मानिन्छ ।
लता मंगेशकरका उपलब्धिहरू
स्वर कोकिला लता मंगेशकरले १९७० मा सर्वश्रेष्ठ पार्श्व गायिकाको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरेकी थिइन्। सन् १९७२ मा फिल्म परिचयको गीतका लागि उत्कृष्ट पार्श्व गायकको लागि राष्ट्रिय चलचित्र पुरस्कार, १९७४ मा, उनले फिल्म कोरा कागजका गीतहरूका लागि उत्कृष्ट पार्श्व गायिकाको लागि राष्ट्रिय चलचित्र पुरस्कार, सन् १९७७ मा जैत रे जैतका लागि उत्कृष्ट गायिकाको अवार्ड र १९८९ मा दादासाहेब फाल्के अवार्डबाट सम्मानित र १९९० मा उनले फिल्म लेकिनका गीतहरूका लागि उत्कृष्ट पार्श्व गायिकाको लागि राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन्।
यस्तै लता मंगेशकरलाई सन् १९८९ मा पद्मविभूषण, सन् १९९० मा श्री राजा लक्ष्मी फाउन्डेसन चेन्नईले पुरस्कार, २००० मा आइफा लाइफस्टाइल अचीभमेन्ट अवार्ड, २००१ मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरिएको थियो। २००१ मा महाराष्ट्र रत्न, २००२ मा आशा भोसले पुरस्कार, २००४ मा फिल्मफेयर स्पेशल अवार्ड र २००७ मा फ्रान्सेली सरकारले उनलाई सर्वोच्च नागरिक पुरस्कार ९ऑफिसर अफ द लिजन अफ अनर० बाट सम्मानित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया