छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु

लोकपथ
217
Shares
काठमाडौं । देशका विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–६ चिदिसस्थित सडकमा पाल्पाको डुम्रेबाट शिखरडाँडातर्फ जाँदै गरेको लु.१ ज २३७१ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार १० जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा  तिनाउ गाउँपालिका–६ बस्ने ६० वर्षीया यन कुमारी पन्त, ६७ वर्षीय कृष्ण बहादुर अस्लामी, ३९ वर्षीय राम बहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, रिब्दीकोट गाउँपालिका–१ बस्ने ६५ वर्षीया दिल कुमारी सुनार, रूपन्देही बुटवल उपमहानगरपालिका–१४ बस्ने ७० वर्षीय चन्द्र बहादुर परियार, ६० वर्षीया चुना परियार र रूपन्देही देवदह नगरपालिका–५ बस्ने २९ वर्षीय दिलमाया जिसिको घटनास्थलमै मृत्यु भएको हो  ।
दुर्घटनामा गम्भीर घाइते भएका पाल्पा रिब्दीकोट गाउँपालिका–१ बस्ने ६६ वर्षीया बिष्णुकला कामी र सोही गाउँपालिका–२ बस्ने २० वर्षीया गिता सुनारको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार १६ जनाको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि सिएमसि भरतपुर चितवन पठाइएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी काभ्रेको पाँचखाल नगरपालिका–८ पचास किलोस्थित सडकमा बा.प्र.०२–०३४ प ३३२१ नम्बरको मोटरसाइकल  बा.३ ख ७२०४ नम्बरको गाडीमा ठोक्किएर मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–७ बस्ने २८ वर्षीय मुरारी कार्की रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका–१७ तिलावे पुलस्थित सडकमा प्र.२–०३–०१८ प ८२०६ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल  चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बिन्दवासिनी गाउँपालिका–३ झौवा बस्ने ३३ वर्षीय ललन साह कानु रहेका छन्  । दुर्घटनामा गम्भीर घाइते भएका उनको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?