काठमाडौं । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । चालकसमेत गरी ३० जना घाइते भएका छन् ।
सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बुधबार राति साढे १२ बजे सडकबाट झन्डै सय मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा परेर ३ महिलासहित १० जनाको ज्यान गएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।
यस्तै मृत्यु हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त- ४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त- १६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किन भट्ट रहेका छन् ।
यसैगरी त्यस्तै भीमदत्त नगरपालिका निवासी खगेश्वरी खाती, भीमदत्त- २ का सुदीप भट्ट र पुनरवास-९ का बिसफाटा विमलादेवी भट्टको पहिचान खुलेको छ ।
बसमा ४० जना यात्रु थिए । घाइते ३० जनामध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ भने अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।
मध्यरातमा दुर्घटना भएका कारण घाइतेको उद्धार र उपचारका लागि समस्या भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया