आँखामा नबिझाउने ‘चित्लाङ’

काठमाडौं । के तपाई काठमाडौंको प्रदुषित धुलो र धुवाँबाट आजित हुनुहुन्छ ? पक्कै पनि यहाँको वातावरण, अस्तव्यस्थ जीवनशैली र खानपानबाट जो पनि वाक्क नहुने कुरै छैन । त्यसो हो भने एक चोटी घुम्न जानै पर्ने ठाउँ हो, चित्लाङ ।  

काठमाडौंदेखि चित्लाङको दुरी २६ दशमलब ७ किलोमिटर मात्र रहेको छ । चित्लाङ, मकवानपुर जिल्लास्थित थाहा नगरपालिका वडा नं. १० मा पर्ने ग्रामिण बस्ती हो । काठमाडौंको दक्षिणकाली, सिस्नेरी, कुलेखानी, मार्खु हुँदै करिब ३ घण्टामा चित्लाङ पुग्न सकिन्छ ।

नेवार समुदायको बाहुल्यता रहेको चित्लाङमा ११ सय ७० घरधुरी छन् । नेवारी समुदायको कला संस्कृती, रहन-सहन हेर्नको लागि दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक चित्लाङ पुग्ने गर्छन् । 

चित्लाङमा पर्यटकहरुलाई नै मध्य नजरमा राख्दै होमस्टे तथा होटलहरु पनि सञ्चालनमा ल्याएका छन् । त्यसमध्ये एक हो, चित्लाङ अग्रानिक रिसोर्ट । त्यहाँ रोपिएका स्याउ र नास्पतीको रुख देखेर नरमाउने सायद कमै मात्र होलान् । 

२ हजार मिटर उचाइमा रहेको महाभारत पर्वत श्रंखलामा पर्ने चित्लाङ प्राकृतिक सम्पदाले सम्पन्न ऐतिहासिक गाउँ समेत हो । यस क्षेत्रबाट कुलेखानी जलविद्युत परियोजनाका लागि निर्मित इन्द्रसरोबार, पालुङ, दामन तथा सीमभञ्ज्याङका दृश्यहरु देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?