करिब ६ सय १४ किलो गाँजासहित ५ जना पक्राउ

लोकपथ
112
Shares

काठमाडौं । विभिन्न स्थानबाट करिब ६ सय १४ किलो गाँजासहित ५ जना पक्राउ परेका छन् । चितवनको राप्ती नगरपालिका–३ झुरझुरेबाट अवैध लागुऔषध गाँजा करिब ५ सय ४४ किलोसहित २ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा धनकुटा छथर जोरपाटी गाउँपालिका–३ बस्ने ३२ वर्षीय रमेश नाथ दाहाल र कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने २५ वर्षीय शुसिराम थारू रहेका छन् ।

ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा रोकी राखेको ना.३ ख ६१२२ नम्बरको ट्रक र ना.३ ख ७२४० नम्बरको डिब्बा ट्रकलाई जाँच गर्ने क्रममा डिब्बा ट्रकमा लुकाई छिपाई राखेको ३९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी सोही ट्रकका चालक रमेश नाथ र ना.३ ख ६१२२ नम्बरको ट्रकका सहचालक शुसिरामलाई सोमबार बिहान पक्राउ गरेको हो ।

हाल फरार ना.३ ख ६१२२ नम्बरको ट्रकका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बोटबारीबाट अवैध लागुऔषध गाँजा करिब ७० किलो ६ सय ग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका–१ सानो भावर बस्ने ५० वर्षीय पुर्ण बहादुर मोक्तान, २४ वर्षीय बावुलाल स्याङतान र हेटौंडा उपमहानगरपालिका–११ थानाभर्यारङ बस्ने २४ वर्षीय आमोस पुलामी मगर रहेका छन् ।

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले परेवा भिरबाट पलासेतर्फ जाँदै गरेको प्रदेश ३.००१ ह ०१९६ नम्बरको अटोलाई रोक्न खोज्दा अटो नरोकी भाग्ने क्रममा पल्टिएको थियो । साथै अटोमा २ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी अटोमा सवार उनीहरूलाई आइतबार राति पक्राउ गरेको हो । प्रहरीले हाल फरार अटो चालकको खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?