पोखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको महत्वपूर्ण पर्यटकीयस्थल विरेठाँटीदेखि हिडनलेकसम्म वैकल्पिक पदमार्ग निर्माण सम्पन्न गरी सञ्चालनमा आएको छ ।
ग्रामीण क्षेत्रमा विनायोजना खनिएका मोटरबाटोका कारण दिनप्रतिदिन सङ्कटमा पर्दै गएको पदमार्गको इतिहासलाई जीवित राख्ने ध्येयका साथ वैकल्पिक पदयात्रामार्ग निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल ‘टान’ पश्चिमाञ्चल क्षेत्रीय सङ्घको सक्रियतामा अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसर पारेर चार वर्षअघि सो पदमार्गको निर्माणकार्य शुरु गरिएको हो ।
प्राकृतिक छटाले भरिपूर्ण विरेठाँटी–तमु–मोहोरीया–टाडापानी हुँदै हिडनलेकसम्मको पदयात्रामार्ग हालै सञ्चालनमा आएको ‘टान’ पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।
उनका अनुसार गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ र सङ्घीय सरकारको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई थप टेवा पु¥याउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको लगभग ३५ किलोमिटर लम्बाइको सो पदयात्रामार्ग सात दिनको छ ।
प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ पैदलयात्राको मुख्य मार्ग रहेको उक्त बाटो यातायातको सुविधासँगै ओझेलमा परेको बताउँदै अध्यक्ष भुजेलले यस किसिमका ऐतिहासिक एवं धार्मिक महत्व बोकेका पर्यटकीय गन्तव्यको संरक्षणसँगै उजागर गर्न सके पर्यटन प्रवद्र्धनमा विशेष योगदान पुग्ने बताए ।
पदयात्राको पहिलो दिन चिमरुङ तमु वा मोहोरिया बास बस्न सकिन्छ भने दोस्रो दिन थमडाँडा पुग्न सकिन्छ । तेस्रो दिन टाडापानी, चौथो दिन दोबाटो र पाँचौँ दिन फोर्ते बास बसेपछि त्यहाँबाट दुई घण्टामा हिडनलेक पुगिने थमडाँडा होमस्टे व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद ढुङ्गानाले जानकारी दिए ।
हिडनलेकबाट फर्कनेक्रममा छोमरुङ हुँदै पर्यटक छैटौँ दिन रमणीय पर्यटकीय गाउँ घान्द्रुक बास बस्न आइपुग्ने वा सोही दिन पोखरा पुग्न सकिने बताउँदै उनले भने, ‘पदयात्रामार्गको मोहोरियामा बाइसेचौबीसे राजाको पालाका पोडे राजाको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको दरबारको भग्नावशेष देख्न सकिन्छ ।’
सो स्थानमा अहिले पनि ठूलो ढुङ्गामा रहेको धान कुट्ने ओखल देख्न सकिने जानकारी दिँदै उनले प्राचीनकालमा रहेका तर हराएका ढिकीजाँतोलगायतका विभिन्न सामग्रीको खोजी भइरहेको बताए ।
पदमार्गअन्तर्गत तीन हजार १ सय मिटरको उचाइ मेश्रम बराह मन्दिरसँगै जङ्गलको बीच भागमा मेश्रोम ताल छ जसको पानीमा झरेका रुखका पातसमेत चराले टिपेर लैजाने गरेको जनयुक्ति छ ।
लगभग ३० वर्गमिटरमा फैलिएको पानीको स्थायी स्रोतसमेत नभएको सो तालमा पानी कहिल्यै नसुक्ने सधैँ सफा देखिन्छ । यहाँबाट अन्नपूर्ण र धवलागिरिको मनोरम हिमशृङ्खला तथा सूर्योदयको दृश्यावलोकनसँगै प्राकृतिक सौन्दर्यसहित पोखरा बजार, फेवातालसमेत स्पष्ट देख्न सकिन्छ ।
पदमार्ग निर्माणमा हालसम्म कूल सात लाख खर्च भइसकेको अध्यक्ष ढुङ्गानाले जानकारी दिए । पदयात्रामार्ग निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाबाट दुई पटक गरेर पाँच लाख, ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल ‘टान’ पश्चिमाञ्चल क्षेत्रीय सङ्घबाट दुई लाख सहयोग भएको थियो ।
त्यस्तै अन्नपूर्ण संरक्षण आयोजना ‘एक्याप’ बाट ७५ हजार प्राप्त भएको जानकारी दिँदै उनले भने, ‘पदमार्गअन्तर्गत अप्ठ्यारो स्थानमा ३ सय मिटर काठको सिँढी र ४ सय मिटरमा ढुङ्गाको सिँढी निर्माण गरी पदयात्रीलाई सुविधा पुगेको छ ।’
अधिकांश पदयात्रामार्ग जङ्गलमा पर्ने भएकाले बाटामा घोरल, मृग, थार, बाघ, भालुजस्ता जङ्गली जनावरसहित डाँफे, मुनाललगायतका विभिन्न चराचुरुङ्गी देख्न सकिने उनले बताए ।
पदमार्गको तल्लो भागमा खानेपानीको सुविधा पुगेपनि उपल्लो भागमा भने व्यवस्थापन गरिनुपर्ने बताउँदै उनले मोहोरियासम्म राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् सुविधा पुगे पनि त्यसभन्दा माथि सोलार प्रयोग गर्ने तयारी भइरहेको जानकारी दिए ।
उक्त पदयात्रा मार्गमा अहिले पनि दैनिक तीनदेखि चार टोली पदयात्रामा आउने गरेको ट्रेकिङ गाइड समेत रहेका ढुङ्गानाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया