काठमाडौं । तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको चापागाउँ –सातदोबाटो सडक अबको हप्ता दिनभित्र मर्मत हुने भएको छ ।
लामो समयदेखि धुवाँधुलो र हिलाले आजित चापागाउँबासीले बिहीवार र शुक्रवार क्रमशः एक र दुई घण्टा यातायात अवरुद्ध पारी आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।
विगतमा उक्त सडक निर्माणको ठेक्का कन्ट्रयाक्ट निर्माण प्रालिले लिएको थियो । हाल विभिन्न कारण देखाई ठेक्का लिएको सडक मर्मतको काम ठेकेदारले गर्ने जिम्मेवारीबाट पन्छन चाहे तापनि उसैबाट काम अघि बढाइने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।
‘सडक मर्मत र निर्माणको काम ९९ प्रतिशत अघि बढ्ने तयारी भइसकेको छ’, महर्जनले भने, ‘अबको एक हप्ताभित्र सडकको काम पक्कै अघि बढाउने छौँ ।’
नगरपालिकाले मन्त्रिपरिषद् र सम्बन्धित अन्य निकायलाई आफैँ साढे पाँच करोड खर्च गरी सडक मर्मत र विस्तारको काम गर्ने चुनौती पटक पटक दिएसँगै उनीहरुले तत्काल गराउने सकारात्मक जवाफ दिएको महर्जनले बताए ।
सडक मर्मतको काम तत्काल शुरु नभए शनिवारदेखि अनिश्चितकालीन सडक बन्द गर्ने चेतावनी स्थानीयवासीले नगरपालिका प्रमुखलाई दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया