अदालतद्वारा इमरान र बुशराको सजायविरुद्ध दायर याचिका स्वीकार

लोकपथ
1k
Shares

काठमाडौं । पाकिस्तानको इस्लामाबाद उच्च अदालत (आइएचसी) ले साइफर र तोशाखाना मुद्दामा सजायको विरुद्धमा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान, उनकी पत्नी र पूर्व मन्त्रीको अपील स्वीकार गरेको छ।

अदालतले मार्च ७ सम्ममा सुनुवाइ प्रतिवेदन बुझाउन ट्रायल अदालतलाई निर्देशन दिएको छ । विशेष अदालतले साइफर मुद्दामा इमरान खान र पूर्व मन्त्री शाह महमूद कुरैशीलाई १० वर्षको जेल सजाय सुनाएको थियो । त्यसैगरी तोशाखाना मुद्दामा इमरान र उनकी श्रीमती बुशरा बिबीलाई १४ वर्षको जेल सजाय सुनाइएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानन्यायाधीश आमिर फारुक र न्यायमूर्ति मियाँगुल हसन औरङ्गजेबको इजलासले दुवै अपीलको सुनुवाइ गरेको थियो। साइफर मुद्दामा अधिवक्ता सैयद अली जाफर र ब्यारिस्टर सलमान सफदरले इमरान खानको प्रतिनिधित्व गरेका थिए। अधिवक्ता सफदरले साइफर केसमा पीटीआई नेताहरूलाई दोषी ठहराउन अपनाइएको धेरै प्रक्रियाहरूमा अनियमितता भएको दाबी गरेका छन्।

अपीलमा पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारी र रिमाण्डको सुनुवाइ गत वर्ष अगस्ट १६ मा गोप्य रुपमा भएको थियो । अभियोजन पक्षले पूरा अभिलेख पनि साझा गरेन र न्यायाधीशले हतारमा उनलाई दोषी ठहराए। आईएचसीको बेन्चले दुई पटक सुनुवाइ रद्द गरेको दाबी गरिएको थियो। पूर्वप्रधानमन्त्री इमरान र उनका कानुनी सल्लाहकारले ट्रायल अदालतमा पूर्ण सहयोग गरेको र अनावश्यक स्थगन नगरेको भन्दै न्यायाधीशले निष्पक्ष सुनुवाइ नगरेको दाबी पनि गरिएको छ ।

दुवै नेताले सोधपुछका क्रममा आफ्नो काउन्सिलसँग कुरा गर्न अपिल गरेका थिए, जुन अदालतले खारेज गरेको थियो । साइफर केसलाई गोप्य कोठामा स्थानान्तरण गरिएको र धेरै छोटो अवधिमा मुद्दा टुङ्गिएको अपीलले दावी गरेको छ ।

तोशाखाना मुद्दामा अधिवक्ता जाफरले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीलाई सोधपुछ नगरी दोषी ठहर गरिएको दाबी गरेका छन् । उच्च अदालतले साइफर प्रकरणमा संघीय अनुसन्धान एजेन्सी र तोषाखाना मुद्दामा राष्ट्रिय जवाफदेहिता ब्यूरोलाई नोटिस जारी गर्दै मुद्दाको सुनुवाइ चैत २१ गतेसम्मका लागि स्थगित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?