डब्ल्यूपीएलमा बैंगलोरको लगातार दोश्रो जित, गुजरातको हार

लोकपथ
0
Shares


काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल)मा खेल रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा आरसीबीले गुजरात जायन्ट्सलाई ८ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ७ विकेट गुमाएर १०७ रन बनाएको थियो । १०८ रनको लक्ष्य पछ्याएको आरसीबीले १३ औं ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

खेलको सुरुमा रोयल च्यालेन्जर्स बैंग्लोरकी कप्तान स्मृति मन्धनाले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएकी थिइन् थिइन् । गुजरातका लागि हरलिन देओल र बेथ मुनी ब्याटिङ ओपन गर्न आए तर रेणुका सिंह ठाकुरको अगाडि गुजरातको शीर्ष क्रम फ्लप जस्तै देखियो । रेणुकाले बेथ मुनीलाई ८ रन र फिबी लिचफिल्डलाई ५ रनमा पभेलियन पठाइन् ।

मध्यक्रममा वेदा कृष्णमुर्ती र एस्ले गार्डनर पनि फ्लप भए । कृष्णमुर्तीले ९ तथा गार्डनरले ७ रनको मात्रै योगदान गरिन् । गुजरातका लागि डिलन हेमलताले सर्वाधिक ३१ रन र हरलिन देओलले २२ रन जोडिन् । आरसीबीका लागि सोफी मोलिनक्सले ३ र रेणुकाले २ तथा जर्जिया वेयरहामले १ विकेट लिए ।

१०८ रनको लक्ष्यको जवाफमा बैंग्लोरको ब्याटिङमा कप्तान स्मृति मन्धानाले तीव्र सुरुवात गरेपनि ३२ रनको स्कोरमा सोफी डेभिन ६ रन बनाएर पभेलियन फर्किएकी थिइन् । त्यसपछि पनि मन्धनाको ब्याट रोकिएन, उनले २७ बलमा ८ चौका र १ छक्का सहित ४३ रनको शानदार इनिङ खेलिन् ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी सबिनेनी मेघनाले अविजित ३६ र एलिस पेरीले २३ रन बनाएउँदै आरसीबीलाई १२.३ ओभरमा ८ विकेटले जिताए । मेघनाले ३६ रनको पारीमा ५ चौका र १ छक्का प्रहार गरिन् भने एलिस पेरीले २३ रनको पारीमा ४ चौका प्रहार गरिन् ।

गुजरातका लागि गार्डनर र तनुजा कवरले एक एक विकेट लिए । जितसँगै बैंगलोर अंक तालिकाको पहिलो स्थानमा पुगेको छ भने गुजरातले लगातार दोस्रो हार बेहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?