काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको आयोजनामा काठमाडौंमा जारी केपी ओली कप फुटबलका दुवै सेमिफाइनल खेल आज हुने भएका छन् । प्रतियोगिताका उद्घाटनसहित क्वाटरफाइनलसम्मका खेल एन्फा मैदान सातदोवाटोमा भएका थिए । तर, आजका दुवै सेमिफाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।
विहान साढे ११ बजे जावालाखेल युथ क्लब र एनआरटी पहिलो सेमिफाइनलमा भिड्ने छन् । जावलाखेलले आयोजक केपी ओली एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै एनआरटीले थ्रीस्टारलाई १–० गोल अन्तरले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।
आजै दोस्रो सेमिफाइनल खेल दिउँसो ३ बजेदेखि सुरुहुने छ । दोस्रो सेमिफाइनलमा मच्छिन्द्र क्लब र भारतका मानेभञ्ज्याङ एफसी आमने सामने हुने छन् । मच्छिन्द्रले विभागीय नेपाल पुलिस क्लबलाई ४–० तथा मानेभञ्ज्याङले भारतकै दिल्ली एफसीलाई ३–१ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।
आज भएका दुवै सेमिफाइनलका विजेताले १९ गते उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको उपाधि विजेताले ११ लाख पाउँदा उप विजेता हुने टिमले ५ लाखमा चित्त बुझाउने छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष केपी ओली कपको उपाधि मच्छिन्द्र क्लबले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया