काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर डबीमा सिटीले बाजी मारेको छ । आइतबार राति भएको खेलमा १ गोलले पछि परेको म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई अन्ततः ३–१ गोलले पराजित गरेको हो ।
इथिहाड स्टेडियममा पाहुना टोली युनाइटेडले आठौं मिनेटमा अग्रता लिएको थियो । बु्रनो फर्नान्डेजको पासमा मार्कस रासफोर्डले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा सोही अग्रता कायम राखेको युनाइटेडले दोस्रो हाफमा भने लय गुमाउन पुग्दा उल्टै ३ गोल बेहोरेको थियो ।
५६ औं मिनेटमा रोड्रिगोको पासमा फिल फोडेनले गोल गर्दै घरेलु टोली सिटीलाई एक एक गोलको बराबरीमा ल्याएका थिए । खेलको ९० औं मिनेटमा जुलियन अल्भारेजको पासमा फोडेनले नै व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले अग्रता लियो । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा रोड्रीको पासमा एर्लिङ हालान्डले गोल गरेपछि अन्ततः सिटी ३–१ गोलको पुनरागमन जित निकाल्दै तालिकामा स्पष्ट ३ अंक लियो ।
यो नतिजा पछि सिटी २७ खेलबाट ६२ अंकका साथ दोस्रो स्थानमा रहँदा शीर्ष स्थानमा रहेको लिभरपुलले समान खेलबाट ६३ अंक बनाएको छ । सिटीसँग पराजित भएको युनाइटेड भने ४४ अंकका साथ तालिकाको छैटौं स्थानमा छ ।
प्रिमियर लिगमा एफसी बर्नमाउथले र्बनेलेलाई २–० गोल अन्तरले पराजित गरेको छ । बर्नमाउथ १३ औं स्थानमा रहेको छ भने बर्नले पुच्छारबाट दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया