अवैध लागुऔषधसहित विभिन्न स्थानबाट सातजना पक्राउ

लोकपथ
133
Shares


काठमाडौं । अवैध लागुऔषधसहित विभिन्न स्थानबाट सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको कमल गाउँपालिका-३ स्थित कृष्टिना होटलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित गौरीगंज गाउँपालिका-२ बस्ने ३६ वर्षीय अजय हेमरमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले उक्त होटलमा बसिरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा हेमरमले गौरीगंज गाउँपालिका-२ बस्ने २६ वर्षीय सम टुडुको प्र.१-०१-००१ ह ९९१० नम्बरको अटोमा उक्त पदार्थ राखी ल्याएको र अन्य समयमा समेत अटोमा लागुऔषध ओसारपसारमा सहयोग गर्ने गरेको खुलेपछि टुडुलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका-१२ स्थित पुलबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २९ मिलिग्रामसहित सोही नगरपालिका-६ ऐठपुर बस्ने २० वर्षीय शिरीस बोगटी समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र प्रहरी चौकी झुलुङगेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीको भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-६ बस्ने २१ वर्षीय अबिन चौधरी र २४ वर्षीय दिल बहादुर कठरीया रहेका छन् । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका-१० चौबिसकोठी चोकबाट अवैध लागुऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो र स्रोत नखुलेको नगद २ लाख १६ हजार ५ सय रूपैयाँसहित कालिकोट पचालझरना गाउँपालिका-५ बस्ने ४० वर्षीय केशव बमलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?