काठमाडौं । छुट्टाछुट्टै स्थानबाट नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२६ ठमेल नरसिंह चोकबाट नक्कली जस्तो देखिने थाईभाट १ हजार दरको १४ थान नोटसहित पाकिस्तान कराची घर भएका ३४ वर्षीय शेरदाज खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित गरिमा विकास बैंकबाट नोट साट्ने क्रममा नक्कली नोट जस्तो देखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।
त्यस्तै बाराको सिम्रौनगढ नगरपालिका-४ हरिहरपुरबाट नेपाली १ हजार दरका ८ थान नक्कली नोटसहित महागढीमाई नगरपालिका-९ कञ्चनपुर बस्ने ३५ वर्षीय राम बिनय सहनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले बीआर ०५ जे २१८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया