महाशिवरात्रि पर्व : देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो

लोकपथ
0
Shares

कैलाली । ऐतिहासिक महत्व बोकेको महाशिवरात्रिको अवसरमा धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा आज दर्शनार्थीहरूको घुइँचो लागेको छ । बेहडाबाबा मन्दिरमा पूजाआजा गर्नका लागि गए राति १२ बजेदेखि नै भक्तालुहरू आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न जिल्लाका मानिस यहाँ दर्शनका लागि आएका छन् । यो मन्दिरको बेग्लै महत्व रहेको छ ।

त्यस्तै छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी यहाँ आउने गरेका छन् । उनीहरूमा यहाँ आएर मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास रहिआएको छ । बेहडाबाबा मन्दिरको दर्शनले मनमा शान्ति एवं इच्छाएको कुरा पुग्ने हुँदा यहाँ प्रत्येक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायतका विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् ।

मन्दिर व्यवस्थापन समितिका अनुसार पाँचदेखि आठ लाख भक्तालुले पूजा गर्ने अनुमान गरिएको छ । मन्दिर परिसर नजिकै मेलाको पनि आयोजना गरिएको छ । मेलामा यहाँका नेपालीमात्रै नभएर भारतका व्यवसायीसमेत केही दिनअघिबाटै यहाँ आएर विभिन्न पसल सञ्चालन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?