काठमाडौं । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल सुदूर पश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा वागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।
सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
विभागका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राती देशका पहाडी भू–भागमा आंशिक देखी साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया