प्रोटिनजन्य खाद्यान्नमा पहुँच बढाउन शनिबार हाफ म्याराथन

लोकपथ
28
Shares

काठमाडौं । प्रोटिनजन्य पदार्थमा पहुँचको चेतना अभिवृद्धिका लागि नेपाल भेटेरिनरी एशोसिएसनले शनिबार राजधानीमा ‘राइट टु प्रोटिन रन’ गर्ने भएको छ ।

एशोसिएसनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात गर्दै जनचेतना अभिवृद्धिका लागि हाफ म्याराथन आयोजना गर्न लागिएको जनाएको हो ।

‘राइट टु प्रोटिन रन’ कार्यक्रमका संयोजक डा. शीतलकाजी श्रेष्ठले प्रोटिनजन्य खानेकुरामा आम नागरिकलाई प्रेरित गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले भने, ‘यो प्रतियोगिताको तेस्रो संस्करण हो । यसको अवलोकनका लागि विश्व भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. राफेल लागेन आउँदै हुनुहुन्छ ।’

स्वास्थकर्मीहरुका अनुसार औसत नेपालीले खाने खानामा प्रोटिनको मात्रा कम हुने गरेको छ । जसका कारण बालबालिकामा पुड्कोपना हुने गरेको मानिन्छ । यसैले खानामा प्रोटिनजन्य पदार्थको पहुँच बढाउनुपर्छ भन्ने उद्देश्यसाथ ‘राइट टु प्रोटिन रन’ आयोजना गरेको डा. श्रेष्ठले बताए ।

यसअघि प्रतियोगिताको दुई संस्करण सम्पन्न भइसकेका छन् । गत वर्षको प्रतियोगितामा पाँच हजार धावक सहभागी थिए । पुरुषतर्फको उपाधि दीपक अधिकारी र महिलातर्फको उपाधि फूलमती रानाले जितेका थिए । यो वर्ष सात हजार धावक सहभागी गराउने आयोजकको लक्ष्य छ ।

प्रतियोगितामा पुरुष १० किमि र महिला पाँच किमि विधाका दौड पनि हुनेछन् । हाफ म्याराथनको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछन् ।

त्यसैगरी १० किमिको विजेताले ५० हजार र पाँच किमिको विजेताले ३० हजार रुपैयाँ पाउनेछन् । १२ कक्षासम्मका विद्यार्थीका लागि पाँच र तीन किलोमिटर दौडको स्पर्धा हुनेछ ।

दौड दशरथ रंगशालामा सुरु भएर रंगशालामै सकिनेछ । धावकलाई १२ स्थानमा प्राथमिक उपचार र घाइते भएमा एम्बुलेन्सको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?