काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’को आयोजनामा दोश्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्स आज ‘सोमवार’ देखि शुरु भएको छ ।
प्रतियोगिताको सम्पूर्ण खेल लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुँदैछ । प्रतियोगितामा कराँते, तेक्वान्दो, उसु, एथलेटिक्स, टेबलटेनिस र कबड्डीमा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत सारङगिन निरौलाले जनाएका छन् ।
टेबलटेनिस र कबड्डी यसै संस्करणदेखि थपिएको हो । कराँते, तेक्वान्दो र उसुमा ७ प्रदेशबाट समान ७२–७२ खेलाडीले समान ६–६ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
एथलेटिक्समा ७ प्रदेशबाट ७० खेलाडी १० स्वर्णका लागि भिड्ने छन् । ७ प्रदेशबाट ५६ खेलाडी सहभागी हुने टेबलटेनिसमा ४ स्पर्धा समावेश छन् । कबड्डीमा ७ प्रदेशबाट सातै टिमले भाग लिने छन् । कबड्डीमा पुरुषतर्फ मात्र खेल हुनेछ ।
कराँते र तेक्वान्दो सातदोबाटोस्थित आ–आफ्नै हलमा हुनेछ भने एथलेटिक्स र कबड्डी लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा खेलाइने छ । टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र तथा उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।
यु–१४ उमेरसमूहको केन्द्रीयस्तरको यो प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ७८ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता भोली ‘मंगलवार’ सम्पन्न हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया