विराटनगरमा बन्दको प्रभाव, शैक्षिक र औद्योगिक प्रतिष्ठान ठप्प

विराटनगर । नेत्रविक्रम चन्द समूहले आज आह्वान गरेको बन्दबाट विराटनगरमा आंशिक प्रभाव परेको छ ।

बन्दको कारण शैक्षिक प्रतिष्ठान र औद्योगिक प्रतिष्ठान ठप्प छन् । बजारमा पसल खुला छन् । लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । सडकमा जीप, कार, भ्यान, सिटीसफारी, मोरटरसाइकल, रिक्सा, साइकलजस्ता सवारीसाधन निर्वाधरुपमा चलिरहेका छन् ।

जिल्लामा कुनै अप्रिय घटना नभए पनि विराटनगर महानगरपालिका वडा नं ४ र १ को सिमानामा पर्ने पहडगछस्थित सडकको पूर्वतर्फ बिजुलीको खम्बा नजिक शङ्कास्पद् वस्तु फेला परेको प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए ।

प्रेसरकुकरजस्तो देखिने प्लाष्टिक झोलामा रहेको सो वस्तु बम नै भएको प्रहरीको आशङ्का छ ।

आज बिहान प्रातः भ्रमणमा निस्केका स्थानीयवासीले सो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  प्रहरीले सो क्षेत्रलाई चारैतिरबाट घेरा हालेर सुरक्षा दिइरहेको छ । बम पहिचान गर्ने नेपाली सेनाका डिस्पोजल टोली आइनसकेको र अहिले सो क्षेत्रमा मानिसको भीड लागेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?