अर्थमन्त्री खतिवडाले भने, ‘वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ मा वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गरेका छन् । 

सङ्घीय संसद् प्रतिनिधिसभाको आज ‘सोमवार’ को बैठकमा उहाँले संसद्मा ‘आव २०७५/७६ को आर्थिक सर्वेक्षण’ पेश गर्दै १८ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको, धितोपत्र बजार सुधारोन्मुख हुँदै गएको, स्थानीय तहमा वाणिज्य बैंकको सङ्ख्या ७ सय १३ पुगेकाले वित्तीय क्षेत्रमा क्रमशः सुधार हुँदै गएको दाबी गरेका हुन् । 

अर्थमन्त्री डा. खतिवडाले मुलुकभर बैंक तथा वित्तीय संस्थाको कूल सङ्ख्या चार हजार ७ सय १ पुगेको जानकारी दिदैं आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म कूल वस्तु निर्यात १४ दशमलव छ प्रतिशतले वृद्धि भई ६१ अर्ब पुगेको छ भने आयात २३ दशमलव ८ प्रतिशतले वृद्धि भई नौ खर्ब ४९ अर्ब पुगेको बताए । 

उनले यस अवधिमा वस्तु व्यापार घाटा आठ खर्ब ८८ अर्ब रहेको जानकारी दिए । अर्थमन्त्री डा. खतिवडाले आव २०७५/७६ को फागुनसम्म शोधनान्तर स्थितिको घाटा ५९ अर्ब र चालु खाता एक खर्ब ९१ अर्बले घाटामा रहेको तथा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले वृद्धि भई पाँच खर्ब ८२ अर्ब पुगेको जानकारी दिए ।

यस अवधिमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ३५ दशमलव ९ प्रतिशतले घटेको छ उनले भने ।  

अर्थमन्त्री डा. खतिवडाले यस अवधिमा २ सय १८ उद्योगमा ११ अर्ब लगानी प्रतिबद्धता भई थप सात हजार ९ सय ५३ रोजगारी सिर्जना हुने अनुमान गरेको बताए । 

उनले आर्थिक वर्ष २०७५÷७६ फागुनसम्म कूल जनसङ्ख्याको ७७ दशमलव ८ प्रतिशत जनसङ्ख्यामा विद्युत् सुविधा पुगेको र यसै अवधिमा एक हजार १ सय ४२ मेगावट विद्युत् उत्पादन भएको तथा १८ प्रतिशत जनसङ्ख्याले नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत् सुविधा उपभोग गरिरहेको जानकारी दिए । 

यसै अवधिमा हुम्ला बाहेक सबै जिल्ला सदरमुकाममा सडक सञ्जालसँग जोडिएको जानकारी दिदैं उनले कूल सडकको लम्वाइ ३१ हजार ३९३ किलोमिटर पुगेको बताए । 

जसअन्र्तगत कालोपत्रे १४ हजार १ सय २ किमी र सात हजार ८ सय ८१ किमी खण्डास्मित र नौ हजार ४ सय १० कच्ची सडक निर्माण भएको उनले जानकारी दिए । 

 यसै अवधिमा राष्ट्रिय गौरवका आयोजनामध्ये चालू आर्थिक वर्षभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको निर्माण सम्पन्न हुने बताउँदै उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र मध्यपहाडी लोकमार्गको काम तीव्र गतिमा अगाडि बढेको जानकारी दिए । 

अर्थमन्त्री डा. खतिवडाले सन् २०१८ मा स्थल मार्गबाट भारतीय पर्यटकबाहेक ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएको बताए । 

भूकम्पछि पुनःनिर्माणको काममा तीव्रता आएको बताउँदै उनले यस अवधिमा ६ लाख पाँच हजार निजी घरको निर्माण अघि बढेको तथा २ सय ६२ सरकारी भवन चार हजार २ सय १ विद्यालय भवन, २ सय २१ पुरातात्विक सम्पदा र १ सय २४ सुरक्षा निकायका भवनको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिए । 

आर्थिक सर्वेक्षणले आर्थिक वर्ष २०७५÷७६ मा ७ प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान गरेको छ भने मुद्रास्फीति दर चार दशमलव २ प्रतिशतमा रहने अनुमान गरेको छ । 

अर्थमन्त्री खतिवडाले नेपालीको बचत गर्ने बानी बढ्दै गएको, प्रतिव्यक्ति आम्दानी क्रमशः बढ्दै गएको, कूल गार्हस्थ्य उत्पादन वृद्धि हुँदै गएकाले राष्ट्रिय पूँजी निर्माणमा उल्लेख्य योगदान पुगेको बताए । 

आर्थिक वर्ष २०७५÷७६ मा प्रत्येक नेपालीको प्रतिव्यक्ति आय एक लाख १७ हजार पुग्ने बताउँदै उनले यस अवधिमा लगानी २९ प्रतिशतले बृद्धि भई २१ खर्ब ५७ अर्ब हुने अनुमान गरिएको छ भने । 

अर्थमन्त्री डा. खतिवडाले यस अवधिमा एक खर्ब ७ अर्ब वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको र तीन खर्ब ८३ अर्ब ५९ करोड आन्तरिक ऋण र पाँच खर्ब ९५ अर्ब बाह्य ऋण रहेको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?