यार्सागुम्बाबाट २६ प्रतिशत बढी राजश्व सङ्कलन

काठमाडौं । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाले २६ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । 

अघिल्लो भन्दा यो वर्ष यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व बढी उठेको हो । 

जिल्लास्थित सरोकारवाला निकायसहितको सर्वपक्षीय निर्णयअनुसार जेठ १३ देखि भोक्पा, भाङ्का, कुनास, सागबारीलगायत ७० भन्दा धेरै यार्सापाटनहरू औपचारिक रूपमा खुलिसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी छत्र खड्काले जानकारी दिए । 

निकुञ्ज क्षेत्रभित्र पर्ने धो मा रहेका विभिन्न यार्सागुम्बा पाटनमा हिँउ धेरै जमेकाले स्थानीय र यार्सा सङ्कलकसँग सल्लाह गरेर आज ‘मंगलवार’ मात्रै पाटन खुलाइने निर्णय गरिएको छ । निकुञ्ज क्षेत्रभित्रका यार्सापाटन औपचारिक रूपमा खुलेसँगै सर्वसाधारण मानिसहरु जोखीम मोलेर बहुमूल्य जडीबुटी यार्सागुम्बाको खोजीमा जुटेका छन् । 

यार्सागुम्बाको खोजीका लागि पुगेका हजारौँ सर्वसाधारण हिँउले सेताम्य पाटनमा हिँउ बिलाएको ठाउँमा यार्सा खोज्न थालेका हुन् । पाटन खुलेको पहिलो दिनमा जतिसक्दो धेरै यार्सागुम्बा टिप्ने अठोटका साथ एकले अर्कालाइ उछिन्दै अगाडि बढिरहेको देखीने रुकुम आठबीसकोट नगरपालिका राडीकी भगवती शाहीले बताए । 

निकुञ्ज क्षेत्रभित्र पर्ने अधिकांश यार्सापाटन खुले पनि सामुदायिक वन क्षेत्रभित्रका केही पाटन खुल्न सकेका छैनन् । यार्सापाटन खुलाउन आन्तरिक व्यवस्थापनमा समय लाग्ने भन्दै केही दिनभित्रै पाटन खुलाइने सामुदायिक वनहरुले जानकारी दिएका छन् ।

अहिलेसम्म एक करोड ९१ लाखभन्दा बढी यार्सा सङ्कलनकर्ताबाट रकम उठेको निकुञ्जका छत्र खड्काले जानकारी दिए । अघिल्लो वर्षको भन्दा यो वर्ष २६ प्रतिशत राजश्व बढी उठेको उनले बताए । 

एक करोड ९१ लाख रकम अघिल्लो वर्ष उठेको थियो ।  जाजरकोट, रुकुम, जुम्लाका स्थानीयवासी बढी यार्सागुम्बा सङ्कलनका लागि आएको छन् । अहिलेसम्म आठ हजार बढी यार्सा सङ्कलनकर्ता पाटनमा पुगेको खड्काले जानकारी दिए । सङकलनकर्ता बढ्न सक्ने बताइएको छ । 

निकुञ्जले शुक्रवारबाट प्रवेश शुल्क मार्फत मध्यवर्ती क्षेत्र भित्रका सर्वसाधारणका लागि ५ सय, मध्यवर्ती क्षेत्रबाहेक जिल्ला भित्रका सर्वसाधारणका लागि दुई हजार र जिल्लाबाहिरका सर्वसाधारणका लागि तीन हजार दस्तुर तोकेको छ ।

त्यसबाहेक मध्यवर्ती क्षेत्रहरूले सेवा शुल्कको रुपमा छुट्टै ५ सय लिन पाउने व्यवस्था गरिएको छ ।

 निकुञ्जले छोडपुर्जी दस्तुरवाफत ३० हजार तोकेकोे छ । पुर्जीको म्याद जेठ १० गतेदेखि असार १० गतेसम्मको एक महीनाको अवधि रहने निकुञ्जले जनाएको छ । निकुञ्ज भित्रका १५ नाकाबाट  प्रवेश गर्नेलाई प्रवेश पुर्जी काटिएको छ ।

सो क्षेत्रमा पर्ने सुलिगाड, सुम्दुवा, छेप्का, पलम, रिग्मो, साल्दाङ्, धो, त्रिपुराकोट, खालीवन, नाउली, तोइजुम लगायतका १४ वटा स्थानबाट सङ्कलन पुर्जी वितरण भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?