काठमाडौं । आठ बीसकोट नगरपालिकाले आर्थिक वर्ष नसकिँदै लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
चालू आव २०७५/७६ मा नगरपालिकाले एक करोड ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर नगरपालिकाले १० महीनामै लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको हो ।
वैशाख मसान्तसम्म एक करोड ५५ लाख २८ हजार ३ सय ८७ राजश्व सङ्कलन भएको नगरपालिकाले जनाएको छ । दश महीनामै लक्ष्यभन्दा पाँच लाख २८ हजार २ सय ८७ बढी राजश्व सङ्कलन भएको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिए ।
वडा कार्यालय, नगरपालिकाको कार्यालय, कर सङ्कलन केन्द्र, नगर अस्पताल, नगर प्रहरी, नगरपालिकाका विभिन्न शाखा, नगर क्यान्टिन, घरजग्गा रजिष्ट्रेशन, पशु सेवा कार्यालयलगायत बाट उक्त राजश्व सङ्कलन भएको उनको भनार्ए थियो ।
उनका अनुसार १४ वटा वडा कार्यालयबाट सङ्कलित ४२ लाख ३८ हजार ९ सय ५७, नगरपालिका कार्यालयबाट २७ लाख ९७ हजार ३ सय ८८, कर सङ्कलन केन्द्रबाट दुई लाख २३ हजार २ सय १५, नगर अस्पतालबाट १८ लाख ३९ हजार ५ सय ४० र नगर प्रहरीबाट एक लाख ७७ हजार १ सय राजश्व सङ्कलन भएको छ ।
त्यस्तै विभिन्न शाखाबाट २५ लाख ३२ हजार ७ सय ७०, नगर क्याण्टिनबाट १५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट ३६ लाख ९८ हजार ७ सय २५, पशुसेवा कार्यालयबाट पाँच हजार ६ सय ९२ राजश्व उठेको नगरप्रमुख केसीले जानकारी दिए ।
चालू आवमा लक्ष्यभन्दा करीब १५ लाखभन्दा बढी राजश्व उठ्ने देखिएको नगरपालिकाले जनाएको छ । पाँच लाखभन्दा बढी राजश्व उठिसकेको तथा जेठ र असार मसान्तमा करीब १० लाख राजश्व उठ्ने नगरप्रमुख केसीको अनुमान छ ।
जिल्लाका ६ वटा स्थानीय तहमध्येमा आठबीसकोट सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने स्थानीय तह हो । गत वर्ष पनि नगरपालिकाले लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया