प्रधानमन्त्री ओली बिहीबार भारत जाँदै, मोदीसँग द्धिपक्षीय महत्वबारे छलफल हुन्छ : डा. भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन जाँदा द्धिपक्षीय महत्वबारे छलफल हुने स्पष्ट पारेका छन् । 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सल्लाहकार डा. भट्टराईले यस्तो जानकारी गराएका हुन् ।

उनले भने,‘भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहणमा सहभागी हुनको लागि निम्तो आएको छ । ओली बिहीबार दिउँसो भारत जाँदैछन् । विमस्टेक राष्ट्रका सबै सदस्य सहभागी हुने कार्यक्रम छ । त्यसबाहेक काजिकिस्तानका राष्ट्रपति र मोरिससका प्रधानमन्त्रीपनि आउने कार्यक्रम छ भन्ने जानकारीमा आएको छ ।’ बिहीबार साँझ हुने सपथग्रहणमा सहभागी भएर ओली भोलिपल्ट (शुक्रबार) स्वदेश फर्कने कार्यक्रम रहेको भट्टराईले बताए । 

साक्षात्कारमा बोल्दै उनले त्यही बिचमा मोदी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुनेपनि स्पष्ट पारे ।

उनले भने,‘यो प्रधानमन्त्रीको छोटो भ्रमण हो । नेपाल–भारत द्धिपक्षीय महत्वका विषयमा उहाँहरुबीच सामान्य छलफल हुन्छ ।’ नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेकोले आगामी दिनमा पनि सम्बन्ध सुमधुर हुने उनको विश्वास छ । 

भट्टराईले नेपाल र भारतबीच अरुको भन्दा बढि नै चासो रहेको पनि सुनाए ।

उनले भने,‘हामीबीच बहुआयामिक सम्बन्ध छ ।

धेरै विषय भएकोले समस्यापनि छन् ।

पछिल्लो समय समस्याहरुपनि समाधानतर्फ उन्मुख छन् ।

’ सन् २०१८ मा तीन चार वटा विषयहरु समाधान गर्न सफल भएको उनको दाबी छ ।

उनले थपे,‘बाँकी विषयहरु पनि द्धिपक्षीय वार्ता गरेर समाधान गर्नेतर्फ नै हामीहरु अघि बढिरहेका छौं ।’

उनले नेपाल र भारतबीच अब २१ औं शताब्दीअनुसार युग सुहाउँदो सम्बन्ध कायम गर्नुपर्ने पनि जनाए ।

उनले भने,‘नेपाल र भारतबीच अब उदाहरणीय सम्बन्ध राख्नुपर्छ ।’

फरक प्रसँगमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले छिट्टै बुझ्नेपनि उनले विश्वास दिलाए ।

उनले भने,‘हामी दुवै पक्षका सदस्यहरुले सर्वसम्मतीले प्रतिवेदन तयार पारेका हौं ।

भारतमा चुनाव भएकोले मोदीको व्यस्तताका कारण प्रतिवेदन बुझाउन समय लागेको हो । अब छिट्टै बुझ्नुहुन्छ ।’

भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतमा प्रचण्ड बहुमतका साथ भाजपाको पूनरोदय भएकोले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल नीतिलाई निरन्तरता नै दिने स्पष्ट पारे । उनले भने,‘मोदीले छिमेक नीतिलाई अझै बलियो र मजबुद बनाएर अघि बढाउनेछन् ।’ 

भारतमा मोदीको उदयसँगै नेपाल–भारत सम्बन्ध राजनीतिक तहमा समेत बलियो भएको सुनाउँदै यसले दुवै देशलाई हित गरेको पनि सिंहको दाबी छ ।

उनले भने,‘मोदी आफ्नो पहिलो कार्यकालमा चार पटक नेपाल भ्रमणमा आउनुभयो । उहाँले नेपाललाई विशेष महत्व दिनुभएको छ । बास्तवमा भन्ने हो भने उहाँ प्रधानमन्त्री भएपछि भारतले नेपाललाई नयाँ रुपमा महत्व दिएको छ ।’

सिंहले मोदी प्रधानमन्त्री बन्नुपुर्व नेपाल–भारत सम्बन्ध कर्मचारीतन्त्रले चलाएको भएपनि मोदी आएपछि धेरै राम्रो भएको सुनाए । उनले भने,‘पहिले हामी भारतसामू निरीह थियौं, मोदी आएपछि धेरै सुमधुर सम्बन्ध भएको छ । अहिले सम्बन्ध राम्रो छ ।’

उनले विगतमा दुई देशबीच भएका सम्झौताहरुलाई हल्काफुल्का रुपमा लिईने गरेका भएपनि अहिले ती सम्झौताहरुप्रति नेपालले आफ्नो चासो देखाउन थालेको र भारतलेपनि चिन्ता लिएको जिकिर गरे ।

नेपालले भारतबाट लाभ लिनेगरि आफूलाई प्रस्तुत गर्नुपर्नेमा पनि उनको जोड छ ।

उनले भने,‘भारतसँगका सबैखाले अवसरहरु लिनको लागि हामीले सदुपयोग गर्नुपर्छ । हामी चुक्नुहुँदैन् ।’ उनले नेपाल–भारत परराष्ट्र नीतिमा अब आन्तरिक राजनीति खेलौना बन्न नहुनेपनि सुझाव दिए । भारतसँगको सम्बन्धको विषयमा नेपालले राष्ट्रिय सहमति कायम गर्नुपर्नेपनि उनको धारणा छ ।

उनले भने,‘भारतसँगको नेपाल सम्बन्ध अब कुनै पार्टीको या नेताको मात्रै नभएर सम्पूर्ण नेपालीहरुको साझा दृष्टिकोण हुनुपर्छ । हामीले यसमा राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक छ ।’ मोदीले खोलेको नेपाल–भारत सम्बन्धको राजनीतिक ढोकालाई आगामी दिनमा अझै सशक्त रुपमा लैजानुपर्ने पनि उनले सुझाव दिए । 

उनले नेपाल–भारत सम्बन्धमा अहिले बुद्धिष्ट, जानकीलगायतका सर्किटहरु सञ्चालनमा आउने भएकोले यसलेपनि दुई देशबीच जनस्तरमा सम्बन्ध बलियो बनाउने बताए ।

नेपालले पनि भारतसामू बोलेका कुराहरु पूरा गर्नुपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?