‘साग’को प्रारम्भिक प्रशिक्षणमा ७ खेलका ८४ खेलाडी सहभागी, क्लोज क्याम्प बिहीवारबाट शुरु

काठमाडौं । आसन्न १३ औँ दक्षिण एशियाली खेलकुद ‘साग’को तयारी स्वरुप नेपाली खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ । 

राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ले सागको राष्ट्रिय टिम तयारीको प्रारम्भिक प्रशिक्षणमा ७ खेलका ८४ खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको हो । खेलकुद परिषदले सागको विशेष प्रशिक्षणको औपचारिक शुरुवात भोली ‘बिहीवार’देखि शुरु गर्दैछ ।

‘साग’ खेलकुदको विशेष प्रशिक्षणमा प्रारम्भिक रुपमा ७ खेलका खेलाडीलाई सहभागी गराउँदै छ । 

खेलकुद परिषदले शुरुवातमा स्क्वास, जुडो, भारोत्तोलन, पाराग्लाईडिङ, आर्चरी, सुटिङ र टेबलटेनिस खेलका खेलाडीको विशेष प्रशिक्षण दिन लागेको हो ।

जेठको पहिलो साताबाट सबै खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भनिएपनि आर्थिक अभावका कारण सबै खेलाडीहरुलाई तोकिएको समयमा नै प्रशिषण दिन नसकेको खेलकुद परिषदका सदस्यसचिव केशव विष्टले जानकारी दिए । आर्थिक अभावै कारण मात्र जेष्ठ तेस्रो सातामात्र ७ खेलको प्रशिक्षण शुरु हुन लागेको हो । 

राष्ट्रिय टिम तयारी समितिका निर्देशक अर्जुन बिकका अनुसार एक साता भित्रै सबै खेलको प्रशिक्षण शुरु गर्ने तयारी गरिएको बताए । सागको तयारी प्रशिक्षणमा आठौँ राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई समावेश गरिएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?