काठमाडौं । नेपालमा हुने १३ औँ दक्षिण एशियाली खेलकुद ‘साग’का लागि खेलाडीको तयारीलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ले विशेष प्रशिक्षण आज ‘बिहीवार’देखि शुरु भएको छ ।
प्रशिक्षणमा जुडो, स्क्वास, टेबलटेनिस, भारोत्तोलन, प्याराग्लाइडिङ, आर्चरी र सुटिङका जम्मा ८४ खेलाडी सहभागी छन् । सागमा समावेश विभिन्न २७ खेल मध्ये पहिलो चरणमा ७ खेलका ८४ खेलाडीलाई विशेष प्रशिक्षणमा राखिएको हो ।
अन्य सम्बन्धित संघबाट नामवली उपलब्ध नभएकाले तत्काललाई ७ खेलको मात्र विशेष प्रशिक्षण शुरु गरेको हो । जेठ २० गतेसम्ममा २७ खेलकै खेलाडीलाई विशेष प्रशिक्षणमा राखिने सदस्य–सचिव केशव विष्टले जानकारी दिए । प्रदेश ५ मा गत बैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको प्रदर्शनका आधारमा खेलाडीलाई प्रशिक्षणमा राखिएको हो ।
८४ खेलाडी मध्ये प्याराग्लाइडिङका १६ र आर्चरीका ४ खेलाडीले पोखरामा रहेर विशेष प्रशिक्षणमा सहभागी हुने छन् । बाँकी खेलाडीको प्रशिक्षण काठमाडौंमा हुनेछ । साग डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौं र पोखरामा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया