चितवन । नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई कारवाही गरेको छ ।
उनको नेतृत्वमा रहेको एक समूहले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिसरको जस्ताको बार भत्काएका थिए ।
नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले आज ‘बिहीवार’ विज्ञप्ती जारी गर्दै कँडेलसहित भैरह वास्ताकोटीलाई कारर्वाही गरेको जनाएका छन् । अध्यक्ष परियारले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्वन गरी कारर्वाही गरेको छ ।’
नेकपा चितवनले दोषीउपर कारर्वाही गरी क्षतिपूर्ती उनीहरुबाट नै भराउन माग पनि गरेको छ । नेकपा चितवनले यस्ता घटनाबाट विचलित नभएर निर्माणको कामलाई अघि बढाउन धुर्मुस सुन्तली फाउण्डेशनलाई आग्रह समेत गरेको छ ।
धुर्मस-सुन्तली फाउण्डेशनले सुरक्षाको प्रत्याभूति नभएको भन्दै आज ‘बिहीवार’देखि निर्माण कार्य स्थगित गरेको छ । यसैबीच रंगशालाको बार भत्काउने मुख्य योजनाकार कँडेलसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सार्वजनिक सम्पतिमा नोक्सानी पुर्याएको तथा धम्क्याएको अभियोगमा उनीहरुविरुद्ध मुद्दा चलाउन सकिने चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए ।
भरतपुर महानगरपालिका–१६ का कँडेल ठेक्कापट्टामा समेत संलग्न छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकट मानिने कँडेलमाथि प्रहरी प्रशासनलाई धम्क्याउने गरेको आरोपसमेत लाग्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया