बाँके । राप्ती खानेपानी आयोजनाका लागि पाइप खरीद भएको डेढ वर्ष बिते पनि अहिलेसम्म उक्त आयोजनाको काम अघि बढ्न सकेको छैन ।
नेपाल खानेपानी संस्थान नेपालगञ्जले राप्ती नदीबाट पिउने पानी ल्याउन आर्थिक वर्ष २०७३/७४ को अन्त्यतिर पाइप खरीद गर्न बोलपत्र आह्वान गरेको थियो ।
पाइप खरीद गरेको लामो समय बित्दासमेत उक्त आयोजनाको काम अगाडि नबढेको नेपाल खानेपानी संस्थान, नेपालगञ्जका प्रमुख इञ्जिनीयर आशिष कार्कीले बताए । संस्थानले राप्ती नदीको सिधनिया पुल नजिक सम्पवेलमार्फत राप्ती नदीको पानी तानेर नेपालगञ्ज ल्याउने योजना बनाएको छ ।
नेपालगञ्ज र बुटवलका लागि २५–२५ करोडको पाइप खरीद गरेको देखाइए पनि भन्सार पास गरेको प्रज्ञापनपत्र हेर्दा नेपालगञ्ज भन्सारबाट १२ करोड र भैरहवा भन्सारबाट १३ करोडको सामान आयात गरेको देखिन्छ । उक्त आयोजनाका लागि आर्थिक वर्ष २०७४÷७५ मा राप्ती नदीबाट खानेपानी आपूर्ति गर्न पाइप तथा फिटिङ सामान खरीद गर्न २८ करोड ४८ लाख ६३ हजार विनियोजन गरिएको थियो ।
निर्माण गर्न बुटवलका लागि २६ करोड २४ लाख र राप्तीका लागि २५ करोड ७६ लाख लागत तय गरिएको थियो ।
भूमिगत जलस्रोतबाट नेपालगञ्जमा खानेपानीको आपूर्ति गर्दै आएको संस्थानले दीर्घकालीन आपूर्ति व्यवस्थापन गर्न नयाँ योजना ल्याएको जनाएको छ । राप्ती नदी किनारमा इन्टेक बनाएर नेपालगञ्जको फुल्टेक्रास्थित नेपाली सेनाको ब्यारेकबाट सुर्जीगाउँतर्फ सहायक लाइन विस्तार गरिने भएको छ ।
‘सहायक लाइनलाई सुर्खेतरोडमा जोडेर नेपालगञ्ज उपमहानगरपालिका–२०, मनिकापुरमा पानी वितरण गर्ने योजना छ’, कार्कीले भने, त्यस्तै राप्ती नदीबाट संस्थानको कार्यालयमा भएको ट्याङ्कीमा पानी ल्याउने योजना छ ।
सोह्र किलोमिटर मुख्य पाइप लाइनबाट नेपालगञ्जमा रहेको संस्थानको मुख्य ट्याङ्कीमा पानी ल्याउने योजना संस्थानको छ ।
‘हातेपम्प, ट्युबवेल, डिपबोरिङ, इनारलगायतका माध्यमबाट उपलब्ध खानेपानीलाई विस्थापित गर्न नयाँ योजना ल्याइएको हो’, उनले भने । राप्ती नदीबाट राप्तीपथ हुँदै नेपालगञ्जसम्म २० इन्च पाइपबाट खानेपानीको मुख्य लाइन विस्तार गर्ने योजना छ ।
राप्ती नदीबाट ल्याइने पानी नेपालगञ्जमा रहेको खानेपानी ट्याङकीमा ल्याउने र त्यसैमार्फत वितरण गर्ने योजना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया