नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले पार्टी एकीकरणपछि प्रचण्डले सरकारको नेतृत्वमा आलोपालोको कुरा गर्नु अशोभनीय र अमर्यादित भएको बताएका छन् ।
आलोपालो सरकारको नेतृत्व गर्ने गरी दुई अध्यक्षबीच गोप्य सहमति भएको खुलासा प्रचण्डले केही दिनअघि एक टेलिभिजन कार्यक्रममार्फत गरेका थिए । शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले आफूले पनि त्यो कुरा सुनेको भन्दै दुई पार्टी एक भइसकेपछि र दुई तिहाइको सरकार हुँदाहुँदै प्रधानमन्त्रीमा आलोपालोको कुरा गर्नु लज्जास्पद भएको अभिव्यक्ति दिए ।
वैद्यले संघीय सरकारले ल्याएको बजेटप्रति टिप्पणी गर्दै त्यसलाई दयनीयको संज्ञा दिएका छन् ।
उनले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकले सरकार निरंकुश र फासीवादी दिशामा अघि बढेको देखिएको भन्दै आफ्नो पार्टीले विधेयकविरुद्ध पत्रकारहरुको आन्दोलनमा ऐक्यवद्धता रहेको बताए ।
सरकार एकपछि अर्को गर्दै ठूला ठूला भ्रष्टाचार काण्डमा मुछिंदै गएको र वर्तमान सरकारप्रति जनमत राम्रो नदेखिएपछि आफ्ना कमजोरी ढाकछोप गर्न विधेयक अघि सारिएको उनको भनाई छ ।
फरक प्रसंगमा वैद्यले विप्लवसंग पार्टी एकताको आधार तयार गर्ने प्रयास ६/७ महिनायता रोकिएको स्पष्ट पारे । ‘उहाँहरु र हाम्रो कार्यदिशामा पनि खाडल छ, उहाँहरुको अलि रहस्यमूलक छ, त्यसैले तत्काल एकता सम्भावना छैन’बरु नेकपा मसाल, ऋषि कट्टेलको नेकपा, गोपाल किरातीको माओवादी केन्द्रसंग ध्रुवीकरणको प्रयास जारी छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया