पोखरा । पोखरा महानगरपालिका–१७ ले ११ महीनाको अवधिमा दुई करोड ३० लाख ५८ हजार ६ सय २२ राजश्व सङ्कलन गरेको छ ।
महानगरका ३३ वडामध्ये उक्त वडाले पहिलो पटक २०७५ साल साउन ९ गतेदेखि विभिन्न शीर्षकमा राजश्व सङ्कलन गरेको हो । घर नक्सा दस्तुर र अन्य सिफारिशबाट एक करोड ७१ लाख ६८ हजार २ सय ४५, र भूमि करबाट ५८ लाख ९० हजार प्राप्त भएको वडाध्यक्ष तीर्थ अधिकारीले यहाँ आयोजित कार्यक्रममा जानकारी दिए ।
स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधिले जिम्मेवारी लिएको दोस्रो वार्षिकोत्सवका अवसरमा वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा उनले एक वर्षमा दर्ता पत्र सङ्ख्या ४ सय ९१, चलानी भएका पत्र छ हजार ९३, व्यवसाय नयाँ दर्ता २ सय ३९ र २८ निवेदन नवीकरण गरिएको बताए ।
वडाध्यक्ष अधिकारीले प्रदेश, महानगर र वडास्तरीयसहित विभिन्न १४ शीर्षकमा २३ करोड ८२ लाख चार हजार ७ सय ४० बरावरको विकास निर्माणका कार्य भइरहेको जानकारी दिए ।
नेकपा संयन्त्र सदस्य सुभाष ढुङ्गाना, नेपाली काङ्ग्रेसका देवीराज आचार्य, कार्यपालिका सदस्य राधिका योगी, वडाका सचिव सुभाष पौडेललगायतले वडाको विकास निर्माणका बारेमा चर्चा गरेको सो कार्यक्रममा सहभागी स्थानीयवासीले वडामा कर तिर्ने व्यवस्थासँगै ढल तथा खानेपानीको व्यवस्थापन, सडकलगायत विकास निर्माणमा गुणस्तरीयता एवम् पारदर्शिताको आवश्यकता औँल्याएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया