दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले गाडी खरीदमा साढे ३ करोड खर्च गरेको छ ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि ३ करोड ४५ लाख ३५ हजार ७ सय ९६ मूल्य बराबरका गाडी खरीद गरिएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिए । खरेलका अनुसार २ वर्षको यो अवधिमा २९ वटा गाडी खरीद गरिएको छ ।
खरीद गरिएको २९ वटा गाडीमध्ये ५ वटा गाडी विकास निर्माणका लागि प्रयोग गरिएका छन् भने अन्य गाडी जनप्रतिनिधि तथा कर्मचारीका लागि प्रयोग गर्ने गरिएको छ ।
नगरपालिकाले मारुती कार एक, टिप्पर एक, ट्रयाक्टर दुई, ब्याक्हुलोडर दुई, रोलर एक, जीप टाटा एक, कम्प्याक्टर एक, मोटरसाइकल एक, १ सय ५० सिसीका मोटरसाइकल ११ र १ सय २५ सिसीका मोटरसाइकल आठ वटा खरीद गरिएको सूचना अधिकारी खरेलले बताए।
खरेलका अनुसार उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले चढ्ने गाडीको मूल्य ५१ लाख ९० हजार २ सय ६५ को टाटा जीप रहेको छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृतका लागि मारुती कार खरीद गर्न ३९ लाख १९ हजार ४ सय ६९ खर्च भएको छ ।
त्यस्तै एउटा जनस्वास्थ्य महाशाखा र १९ वटा वडा कार्यालयसहित २० वटा मोटरसाइकल खरीद गर्दा ४१ लाख १४ हजार ३ सय ७९, त्यसैगरी दुई वटा ट्रयाक्टर खरीद गर्दा २८ लाख ९० हजार, एउटा टिप्पर खरीद गर्दा ५० लाख ४४ हजार २ सय ४७ खर्च भएको छ ।
दुई वटा ब्याक्हुलोडर खरीद गर्दा ६० लाख ५४ हजार ८ सय ६७, एउटा रोलर खरीद गर्दा ३१ लाख ७२ हजार ५ सय ६६ र एउटा कम्प्याक्टर खरीद गर्दा ४१ लाख ५० हजार खर्च गरेको सूचना अधिकारी खरेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया