लोकसेवा आयोगको पदाधिकारीलाई कार्वाही गर्नुपर्छ: प्रभु साह

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले संवैधानिक व्यवस्था विपरीत विज्ञापन निकालेको लोकसेवा आयोगका पदाधिकारीलाई कार्वाही गर्नुपर्ने बताएका छन् । 

आयोगले जेठ १५ गते स्थानीय तहमा कर्मचारी भर्नाका लागि विज्ञापन निकालेको थियो । उक्त विज्ञापन संविधानको मर्म विपरीत समानुपातिक समावेशी नभएको भन्दै अध्यक्ष साहले शुक्रवार प्रेस विज्ञप्ति जारी गरि आपत्ती जनाएका हुन् ।  जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त प्रतिफलको रुपमा रहेको समानुपातिक समावेशी प्रतिनिधित्वको अधिकार हनन हुने गरी गरिएको विज्ञापन बदनियतपूर्ण रहेको अध्यक्ष साहको आरोप छ । 

मुलुक स्थिरतातर्फ अघि बढिरहेको अवस्थामा महत्वपूर्ण संवैधानिक अंगको रुपमा रहेको आयोगले परिवर्तन उल्टाउने तथा मुलुकमा द्वन्द्व बढाउने कदम चालेको भन्दै त्यस्ता कुनै पनि कार्य सह्य नहुने उनको दाबी छ । मुलुकको आवश्यकता र वर्तमान परिस्थिति बिर्सेर आयोगले चालेको कदम फिर्ता लिई विज्ञापन रोक्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?