विश्वकप क्रिकेट : अफगानिस्तानविरुद्ध श्रीलंकको जित

काठमाडौं । आईसीसी एकदिवशीय विश्वकपमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको छ । आफ्नो दोस्रो खेलमा श्रीलंकाले अफगानिस्तानविरुद्ध डकवर्थ लुइस नियमका आधारमा ३४ रनको जित निकालेको हो । 

खेल वर्षाले प्रभावित भएपछि ४१ ओभरमा झारिएको थियो । खेलमा १ सय ८७ रनको लक्ष्य पाएइको अफगानिस्तान ३२ दशमलव ४ ओभरमा १५२ रनमा समेटिएपछि श्रीलंकाको ३४ रनको जित निकालेको हो । 

अफगानिस्तानका लागि नाजिवुल्लाह जदरानले सर्बाधिक ४३ रन जोडे । ३१ दशमलव ५ ओभरमा कप्तान करुणारत्नेबाट रनआउटको शिकार हुनुअघि उनले ५६ बलमा ६ चौका प्रहार गरेका थिए । अफगानिस्तानका ओपनर हज्रतुल्लाह जाजाईले ३० रन जोडे । कप्तान गुल्वादिन नइवले २३ रन जोडे ।

बलिङतर्फ श्रीलंकाका नुवान प्रदीपले ४ विकेट लिए । म्यान अफ द म्याच बनेका उनले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिए । भेट्रान बलर लसिथ मालिंगाले ३ विकेट लिए । वर्षाले प्रभावित भएपछि ४१ ओभरमा झारिएको खेलमा श्रीलंकाले ३६ दशमलव ५ ओभरमा अलआउट हुँदै २०१ रनको स्कोर खडा गर्यो । श्रीलंका आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?