प्रदेश सरकारद्वारा विभिन्न योजनामा लगानी

नवलपरासी । मानव विकास सूचाङ्कका हिसाबले निकै पछि परेको पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकालाई चौतर्फी विकास गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले विभिन्न योजना अघि बढाएको छ । 

प्रदेश सरकारले चालू आर्थिक वर्षमा कार्यान्वयन गर्ने उद्देश्यअनुरुप शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पशु, खेलकूद र पूर्वाधार विकासअन्तर्गतका विभिन्न योजना अघि बढाएको हो । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमदेखि अन्य चौतर्फी क्षेत्रमा प्रदेश सरकारका योजना कार्यान्वयनको चरणमा रहेका गाउँपालिकका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

प्रदेश सरकारले चालू आवमा यस क्षेत्रमा विभिन्न सडक सञ्जाल विस्तार, पर्यटन गुरुयोजना, कुस्ती खेल मैदान व्यवस्थापन गर्ने गरी करीब  दुई करोड बराबरको आर्थिक लगानी गर्ने योजना रहेको उनले जानकारी दिए । 

अन्य क्षेत्रसहित कृषि क्षेत्रलाई समेत विशेष प्राथमिकतामा राखिएको छ । विभिन्न योजनाअन्तर्गत सुस्ता वडा नं ४ नर्सहीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार स्थापना गर्ने कामको शुरुआत गरिएको छ । प्रदेश सरकारको मुख्य लगानीमा ग्रामीण क्षेत्रमा शीतभण्डार स्थापना भएपछि यस क्षेत्रका कृषक लाभान्वित हुने अपेक्षा गरिएको केरा उत्पादक सङ्घका अध्यक्ष लख्खुप्रसाद यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?