वालिङमा वित्तीय बीमा एक्स्पो शुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले वित्तीय जागरणविना विकास सम्भव नहुने बताएका छन् ।

स्याङ्जाको वालिङमा शुरु भएको दुईदिने बैंकिङ तथा बीमा एक्स्पोको उद्घाटन गर्दै उनले भने, “वित्तीय जागरणविना मुलुकको विकास र समृद्धि सम्भव छैन ।” 

गभर्नर डा नेपालले युवापुस्तालाई देशमै आकर्षित गर्न कानूनमा सहजता र करमा सहुलियत दिनुपर्ने उल्लेख गर्दै युवालाई अब जागिरको पछाडि दौडाउने होइन, उनीहरुलाई उद्यमशीलता र व्यावसायिकतातिर लगाउनुपर्ने आवश्यकतारहेको बताए । 

उनले नेपालीहरु अझै पनी उर्वर भूमिको प्रयोग नगरी भारतबाट आयात गरेर तरकारी, फलफूल तथा खाद्यान्नको प्रयोग गर्नुले देशको अर्थतन्त्रमाथि नकारात्मक असर परेको बताए । वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले सरकारी कर्मचारीले कुन दफा लगाएर उद्योगीलाई कस्न सकिन्छ भन्ने सोचका साथ दुःख दिने गरेकाले पनि देशमा कलकारखाना र उद्योगधन्दाको विकास हुन नसकेको बताए । 

वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले बैंकिङ क्षेत्रले उद्योगी र किसानलाई सहज र सरलरुपमा कर्जा पाउने वातावरणको सिर्जना नगरेसम्म मुलुकलाई आत्मनिर्भर समृद्धि बनाउने कुरा नारामै सीमित हुने धारणा व्यक्त गरे । 

ग्रामीण अर्थतन्त्रको विकास र लघु उद्यमशीलतालाई प्रभावकारी बनाउने उद्देश्यले मिडिया इन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समिति र वालिङ उद्योग वाणिज्य सङ्घको सहकार्यमा उक्त एक्स्पो आयोजना गरिएको हो । 

एक्स्पोमा वालिङ नगरपालिकाभित्र रहेका २२ बैंक तथा वित्तीय संस्था सहभागी छन् । एक्स्पोमा उद्यमशीलताका बारेमा बहस, वित्तीय साक्षरतासम्बन्धी विशेष अन्तक्र्रिया गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?